तिलकराज ओझा/कैलाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले गत आर्थिक बर्ष २०८१/०८२ मा खाद्य तथा दाना ऐन अनुरुप संकलन गरिएका नमूनाहरुमध्ये प्रतिकुल पाइएका १३ वटा प्रतिकुल नमूना उपर मुद्दा दायर गरेको छ ।
खाद्य तथा दाना ऐन अनुरुप संकलन गरिएका नमूनाहरुमध्ये प्रतिकुल पाईएका पाँच वटा खाद्य सम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालय कैलाली, चार वटा दाना सम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालय कैलाली र दुई वटा खाद्य सम्वन्धी मुद्दा जिल्ला अदालत कैलालीमा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत हरेराम प्रधानले जानकारी दिए ।

त्यस्तै एक वटा खाद्य सम्वन्धी मुद्दा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र एक वटा खाद्य सम्बन्धी मुद्दा जिल्ला अदालत कञ्चनपुरमा दायर गरिएको छ ।
उनका अनुसार मुद्दा दायर गरिएका उद्योगी तथा व्यापारीबाट लेबल नलगाई उत्पादन गरेको, न्युनस्तरको खाद्य बस्तु विक्री वितरण गरेको, अनुमति नलिई उद्योग सञ्चालन गरेको, न्युनस्तरको दुध विक्री गरेको, दुषित मह विक्री गरेको, न्युनस्तरको हुस्की उत्पादन गरेको र न्युनस्तरको दाना उत्पादन गरेको पाईएको थियो ।

त्यसैगरी कार्यालयले २० लाख मूल्य बराबरको उपभोग्य मिति सकिएको, मिसावट पाइएको, खाद्य स्वच्छता कायम नभएको, दुषित तथा न्यूनस्तरको खाद्य पदार्थहरु जफत गरी नष्ट गरेको छ । यस्ता खाद्य पदार्थहरुमा पाउरोटी, डुनट, अखाद्य रंग, कोला, मिठाइ, सस, मसला, रङ्ग मिसाइएको दाल, सुजि, मह, चामल, अत्याधिक बिषादि रहेको आँप र दुध छन् ।
कार्यालयमा प्राप्त नुमूनाहरुको विश्लेषण दस्तुर तथा अनुज्ञापत्र जारी, नविकरण र सिफारिस दस्तुर बापत १८ लाख तिन हजार ३१५ रुपैयाँ राजश्व संकलन गरिएको छ भने कार्यालयले चालु र पुँजीगत खर्च गरी जम्मा ३४ दशमलब १८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको प्रधानले बताए ।
शंकास्पद मह विक्री वितरण गरेको उजुरीको सम्बोधन गर्ने क्रममा १६ जना भारतीय नागरिकले विक्रि गर्ने गरेको महको नमूना संकलन गर्दा उक्त मह दुषित गरेको प्रमाणित भएकोमा एक हजार किलोग्राम मह नष्ट गरिएको छ ।
विभिन्न सरोकारवाला निकायहरुसँग संयुक्त अनुगमन गर्ने क्रममा लम्किचुहा स्थित सप्तऋषि बिजनेस ग्रुपमा (११५ बोरा) तिन हजार ४५० किलोग्राम रङ्ग मिसाईएको कालो दाल जफत गरि नष्ट गरिएको छ ।


















