अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुरा गरेको अवसरमा आफ्ना उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री शाहले साउन २० गते सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गरी ३५ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । जसमा अधिकांश नियमित हुने कामकाज छन् । जुन उपलब्धि जुनसुकै व्यक्ति मुख्यमन्त्रीमा आए पनि नियमित भइरहन्छन् ।
उपलब्धिको पहिलो बुँदामा एसियाली विकास बैंकले सुदूरपश्चिम प्रदेशको एकीकृत आर्थिक तथा पर्यटन विकास सम्बन्धमा अध्ययन सम्पन्न गरी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरेको विषयलाई उपलब्धिका रूपमा राखिएको छ । जसबाट प्रदेशले आयोजना गर्ने लगानी सम्मेलनमा पाँच वटा परियोजनाहरूलाई लगानीकर्ताका लागि प्रस्तुत गरिन उल्लेख छ भने एसियाली विकास बैंकले लगानी तथा विकास सम्मेलन सफल बनाउन सम्मेलन आयोजनामा लागत साझेदारी तथा अन्य प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको पहिलो उपलब्धिका रूपमा राखिएको छ । सरकारले लगानी र लगानीकर्ता भित्र्याउने उद्देश्यले २०८० फागुन २३ –२४ गते नै लगानी सम्मेलन गर्ने घोषणा गरेको थियो । जुन पटक पटक सर्दै आएको छ ।

उपलब्धिको दोस्रो बुँदामा पनि लगानी सम्मेलनको वातावरण निर्माण, कानुन निर्माण, प्रचार प्रसार लगायतका काम भइरहेको उल्लेख छ । त्यस्तै तेस्रो उपलब्धिमा प्रदेशको पहिलो पञ्चवर्षीय योजनाको चार वर्ष पुरा भएकाले समीक्षा गर्दै दोस्रो आधारपत्रको निर्माणमा छलफल अघि बढेको उल्लेख छ । चौथो उपलब्धिमा पनि नियमित कामकाज अन्तरगत भएको साक्षर प्रदेश घोषण भएको विषयलाई उपलब्धिका रूपमा राखिएको छ भने पाँचौँ बुँदामा ऐन नियमावली जारी र संशोधन भएको कुरा उल्लेख गरिएको छ ।
उपलब्धिको छठौँ बुँदामा प्रदेशले यसअघिका आर्थिक वर्षको तुलनामा बढी खर्च गरिएको कुरा समेटिएको छ । जसमा प्रदेशको खर्च गर्ने क्षमतामा वृद्धि गर्दै ७०.२२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सक्षम भएको उल्लेख छ भने सातौँमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनबाट सबै प्रदेशहरू मध्ये सबैभन्दा बढी ५१.६ प्रतिशत अंक सुदूरपश्चिमले हासिल गर्नुलाई उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।
त्यस्तै आठौँमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा सुधार गर्दै स्थानीय तहमा वित्तीय हस्तान्तरणको परिमाण वृद्धि गरेको, राष्ट्रिय समन्वय परिषद्को बैठक, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठक, राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अर्थपूर्ण सहभागिता जनाएको उल्लेख छ ।
उपलब्धिको बुँदा नम्बर १० देखि १४ मा भौतिक प्रगतिका उपलब्धि समेटिएको छ । जसमा एक वर्षमा १०६ किलोमिटर कालोपत्रे, १०३ किलोमिटर ग्राभेल र १४६ किलोमिटर कच्ची सडक गरी ३५५ किलोमिटर सडक निर्माण गरेको, १ हजार ६२८ हेक्टर जमिनमा सिँचाइ सुविधा थप गरेको, २७ किलोमिटर तटबन्ध निर्माण गरेको, खानेपानीका ८४१ इन्टेक जडान, ५१६ पोखरी निर्माण, २ हजार १३३ किलोमिटर पाइपलाइन जडान गरिएको, अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) र नेपाल सरकार बिच भएको खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता अनुसार प्रदेश सरकारबीच लागत साझेदारीमा १३ अर्ब ३८ करोड ७० लाख रकम बरावरका खानेपानीको आयोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको उल्लेख छ ।

यस्तै बुँदा नम्बर १५ मा प्रदेश मातहत रहेका यातायात कार्यालयले नियमित रूपमा गर्दै आएको सवारी गर्दा, नवीकरणलाई उपलब्धिका रूपमा उल्लेख गरिएको छ भने । बुँदा नम्बर १६ मा नेपाल सरकाबाट स्वीकृति प्राप्त गरी अछामको बयलपाटा अस्पताल, कैलालीमा अवस्थित लम्कीचुहा अस्पताल र डडेलधुरामा अवस्थित जोगबुडा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख छ ।

बुँदा नम्बर १७ देखि २३ सम्म पनि नीतिगत सुधार, विभिन्न घोषणा, अभियान, साझेदारी गरिएका, विपदमा राहत दिएका, प्रदेश लोककल्याणकारी विज्ञापन वितरण कार्यविधि, २०८१ जारी गरी कार्यान्वयनमा गरिएको, बेरुजुलाई न्यूनीकरण गर्नका लागि संरचनागत पहल गरिएको बुँदा समेटिएको छ ।
बुँदा नम्बर २४ र २६ मा कृषिमा भएका उपलब्धि समेटिएका छन् । जसमा यसअघि देखि नै सञ्चालनमा रहेको कृषि कर्जा अनुदान मार्फत १५१ जना कृषकहरूलाई ९७ लाख ४९१ रकम उपलब्ध गराइएको, १ हजार ५४७ साना सिँचाइ योजना सम्पन्न गरेको, प्रविधि हस्तान्तरण तर्फ साना र ठुला गरी विभिन्न किसिमका ९८८ मेशिन तथा उपकरणहरू कृषकलाई वितरण गरिएको उल्लेख छ ।
यस्तै पशु कार्यालयहरुद्धारा नियमित हुँदै आएको १६ लाख २९ हजार २२८ बाख्रा, गाई र भैँसीमा कृत्रिम गर्भाधान र १ लाख ३२ हजार ७५३ पशु पन्छीलाई उपचार सेवा प्रदान गरिएको र २ लाख ६७ हजार पशु चौपायालाई खोप सेवा र ४८ हजार लम्पी स्किन रोग विरुद्धको खोप लगाउने कार्य सम्पन्न गरिएको कुरा उपलब्धिका रूपमा समेटिएको छ ।
यस्तै बुँदा नम्बर २७ देखि ३३ सम्म उद्योग, वन, जलवायु, पर्यटनका उपलब्धि समेटिएको छ । जसमा १४ लाख ४७ हजार बिरुवा उत्पादन गरी करिब १२२ हेक्टर जमिनमा वृक्षारोपण गरिएको, एक वर्षको अवधिमा २१ लाख ३२ हजार के.जी. जडीबुटी, ४० लाख ४० हजार के.जी. खोटो उत्पादन तथा बिक्री भएको, वन्यजन्तु– मानव द्वन्द्वबाट पीडित ४५६ जना व्यक्ति तथा निजका परिवारलाई रु १ करोड २९ लाख रकम राहत स्वरूप वितरण गरिएको, प्रदेश भित्रमा ३१ वटा स्थानमा धार्मिक मठ मन्दिर निर्माण, ९ वटा ताल र झरना संरक्षण र ९ वटा पर्यटकीय पार्क निर्माण गरिएको, १,९६४ वटा नयाँ उद्योग दर्ता गरिएको, ११० वटा उद्योगहरूको लागि प्रविधि हस्तान्तरण गरिएको, ९५६ जना व्यक्तिहरूलाई सीप विकास तथा उद्यमशीलता विकास तालिम प्रदान गरिएको उल्लेख छ ।
अन्तिम दुई बुँदामा स्वास्थ्य तर्फ भएका काम उल्लेख छन् । जसमा निःशुल्क रक्त सञ्चार सेवा अन्तर्गत १ हजार १८७ जना बिरामीलाई २ हजार १४८ पिन्ट रगत निःशुल्क उपलब्ध गराइएको, करिब १ लाख ४६ हजार ६१२ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप, एआई प्रविधिद्वारा २२ हजार जनाको क्षयरोगका बिरामीहरूको चेकजाँच परीक्षण, ११ हजार भन्दा बढी महिला स्वास्थ्य शिविर मार्फत प्रजनन स्वास्थ्य सम्बन्धी सेवा प्रदान गरिएको, १४ हजार नागरिकमा नसर्ने रोगको स्क्रीनिंग कार्यक्रम सञ्चालन गरिएको र ४ हजार ३९७ जनामा सिकलसेल एनिमिया र थालेसिमिया रोग परीक्षण गरिएको र आर्थिक रूपले विपन्न नागरिकको औषधी उपचार सहायता कार्यक्रम अन्तर्गत ६४५ जनालाई उपचार सहायता प्रदान गरिएको उल्लेख छ ।



















