अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका –१ निगालीमा छाउगोठमा गोठमा सुत्न गएकी २८ वर्षीय कमला दमाईको ज्यान गएपछि अहिले छाउपडी प्रथा फेरी एक पटक बहसमा आएको छ । तराइकै नगरपालिका क्षेत्रमा पनि छाउगोठ रहेको र, त्यहाँ महिलाले ज्यान गुमाउनु परेको घटनापछि जागेको कृष्णपुर नगरपालिकाले छाउगोठ भत्काउन आदेश नै जारी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले पालिकाका नौ वटै वडालाई सम्बोधन गर्दै काटिएको पत्रमा १५ दिन भित्र छाउपडी गोठहरूको निरीक्षण गरी भत्काउन भनिएको छ । पत्रमा नरपालिका अन्तरगत केही वडाहरूमा अझै पनि छाउपडी प्रथा कायम रही गोठ समेत यथावत् भएकाले आ–आफ्ना वडा भित्र रहेका छाउपडी गोठ भत्काउन भनिएको छ । पत्रमा उक्त कार्य कार्यान्वयनमा नल्याए कानुनी कारबाही सहित १० हजार जरिवाना हुने उल्लेख छ ।


शुक्रवार राति छाउगोठमा सुत्न गएका बेला सर्पले गालामा टोकेपछि गम्भीर घाइते भएकी कमलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको भए पनि उनको उपचारकै क्रममा शनिवार ज्यान गएको थियो । कमला दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् । परिवारको पक्की घर भए तापनि रुढीवादी परम्पराका कारण उनी छिमेकीको घरछेउमा बनाइएको छाउ गोठमा बस्न गएकी थिइन ।
श्रीमानसँगै भारतमा मजदुरी गर्दै आएकी कमला छोरालाई पढाउन भनेर घर फर्किएकी थिइन । भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कमलाले कृष्णपुरमा हालै एक तले पक्की घर पनि बनाएकी थिइन् । पुख्र्यौली घर अछामको मेल्लेख गाउँपालिका–८ भएकी कमला महिनावारी भएका बेला घरमा सुत्यो भने देवता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण छाउगोठमा सुतेकी थिइन् ।
कृष्णपुर नगरपालिकाले सचेतनामूलक अभियान सँगै गोठ भत्काउने काम गर्दै आएको भए पनि अझै उक्त परम्परा कायमै रहेको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा ९३० मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ । यस्तो गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था उक्त ऐनले व्यवस्था गरेको छ ।

















