खाेज्नुहाेस

टेस्ट सन्यासबारे पहिलो पटक बोले विराट कोहली

Image

एजेन्सी । भारतीय क्रिकेटका स्टार विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णयबारे पहिलो पटक सार्वजनिक रूपमा बोलेका छन् । उनले लन्डनमा आयोजित एक कार्यक्रममा उमेरका कारण यो निर्णय लिएको संकेत गरे ।

३६ वर्षीय कोहलीले गत १२ मे २०२५ मा सामाजिक सञ्जालमार्फत टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । पूर्व क्रिकेटर युवराज सिंहको च्यारिटी संस्था ‘YouWeCan फाउन्डेसन’ को लागि लन्डनमा आयोजित डिनर पार्टीमा कोहलीले सन्यासको कारण उमेर बताएका हुन् ।

attariya hospital

पार्टीमा विश्वभरका क्रिकेट र अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रममा जब टिभी प्रस्तोता गौरव कपूरले दर्शकले उनलाई मैदानमा सम्झने बताए, तब विराटले मुस्कुराउँदै भने, ‘मैले दुई दिनअघि मात्रै दाह्री रंगाएको थिएँ । हरेक चार दिनमा आफ्नो दाह्री रंगाउनु पर्छ, तपाईंले बुझ्नुहुन्छ कि अब समय (सन्यासको) आयो ।’

navjiwan hospital

कोहलीले भारतका लागि १२३ टेस्ट खेलेका छन् । यसमा उनले २१० इनिङ्समा ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन् । यस क्रममा उनले ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन् ।

भारतका सबैभन्दा सफल टेस्ट कप्तान

ब्याटिङका साथै कोहली कप्तानको रूपमा पनि निकै सफल रहे। उनले ६८ टेस्टमा भारतको कप्तानी गरे, जसमा ४० खेलमा टोली विजयी भयो । ५८.८२ प्रतिशतको जित प्रतिशत सहित कोहली भारतका सबैभन्दा सफल टेस्ट कप्तान हुन् । ५० वा सोभन्दा बढी टेस्टमा कप्तानी गर्नेहरूमध्ये उनको जित प्रतिशत विश्वकै तेस्रो उत्कृष्ट हो । विराट कोहलीले कप्तानको रूपमा कुनै आईसीसी प्रतियोगिताको उपाधि जित्न नसके पनि टेस्ट क्रिकेटमा उनको नेतृत्व क्षमता पूर्व कप्तान महेन्द्रसिंह धोनी र वर्तमान कप्तान रोहित शर्माभन्दा अगाडि मानिन्छ ।

विशेषगरी घरेलु मैदानमा कप्तान कोहलीको रेकर्ड अद्वितीय छ । उनको कप्तानीमा भारतले खेलेका सबै ११ घरेलु टेस्ट शृङ्खला जितेको थियो । धोनी र रोहित दुवैको कप्तानीमा भारतले घरेलु मैदानमा टेस्ट शृङ्खलामा हार बेहोर्नु परेको छ । कोहलीले सन् २०१५ मा दक्षिण अफ्रिका विरुद्ध घरेलु मैदानमा पहिलो पटक पूर्णकालीन कप्तानको रूपमा शृङ्खलाको नेतृत्व गरेका थिए । त्यो ४ टेस्टको शृङ्खला भारतले ३–० ले जितेको थियो । त्यसयता, कोहलीको कप्तानीमा भारतले घरेलु मैदानमा कुनै पनि टेस्ट शृङ्खला गुमाएन ।

गत वर्ष (२०२४) विश्वकप जितेपछि कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् । उनी इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि सक्रिय छन् । यस वर्ष (२०२५) उनको टोली रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलको उपाधि जितेको छ । कोहली २००८ देखि यस टोलीको अभिन्न अंग रहेका छन् ।