धनगढी – १३ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सातौं पूर्ण बैठक सम्पन्न भएको छ । असार २० र २१ गते पार्टी प्रदेश कमिटीका अध्यक्ष कृष्ण प्रसाद जैशीको अध्यक्षता र केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यता धनगढीस्थित मनमोहन स्मृति भवनमा सम्पन्न भएको हो ।
बैठक पछि आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै बैठकबाट १३ बुदे प्रस्ताव पारित गरिएको उल्लेख छ । बैठकमा वर्षातको समय रहेकोले जोखियुक्त क्षेत्रमा जनताको जिउधनको रक्षाका लागि अपनाइन जनतालाई सचेत गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रस्ताव पारीत भएको छ ।


त्यस्तै किसानहरुका लागि आवश्यक मल खाद र किटनाशक औषधिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने, सीमानामा दुःख दिने कार्य रोक्न नेपाल सरकार, स्थानीय प्रशासन, सीमा सुरक्षा निकायको ध्यानाकर्षण गराउने, सीमाका बारेमा हुने विवाद सुल्झाउन आवश्यक पहल गर्न नेपाल सरकारसँग माग गर्ने, भुकम्प प्रभावित जिल्लाहरुमा यथासिघ्र राहत तथा पुर्ननिर्माण सम्बन्धि प्याकेजको व्यवस्थापन गर्न र दार्चुला जिल्लाको सदरमुकाम लगायतका क्षेत्रमा महाकाली नदीले कटान गरिरहेकोले तटबन्धनको उचित व्यवस्था गर्न नेपाल सरकार र प्रदेश सरकारलाई माग गर्ने प्रस्ताव बैठकबाट पारित भएको छ ।
बैठकले कैलाली कञ्चनपुर लगायत पहाडी जिल्लामा बाढी, पहिरो र नदि कटान भएका क्षेत्रहरुमा उचित राहत तथा व्यवस्थापन गर्न, डेडगु, कोरोना र वर्षायाममा हुने महामारी हैजा जस्ता रोगको संक्रमण बढ्ने समय रहेकोले आवश्यक औषधि व्यवस्थापन र सचेतना कार्यक्रम सञ्चालन गर्न, भीमदत्त राजमार्ग लगायत बझाङ्ग, बाजुरा, अछाम, डोटी, दार्चुला, बैतडी लगायत सदरमुकाम जोड्ने सडकहरु खाल्डाखुल्डी र जोखिम युक्त भएकोले उक्त सडकहरुको स्तरोन्नति गर्न ध्यानाकर्षण गराउने, महाकाली लोकमार्ग, सेती लोकमार्ग, खुटिया दिपायल द्रुत मार्ग, बंक नाइल बुडर सडक, बैलौरी कलुवापुर दोमिल्ला नाइल सडक लगायतका बहुप्रतिष्ठित दिर्घकालीन महत्वका सडकहरुको निर्माण कार्य यथेष्ट बजेट व्यवस्थापन गरि सम्पन्न गर्न माग गर्ने, शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा जनशक्ति व्यवस्थापन गरि तत्काल सञ्चालन हुने वातावरण बनाउन, भ्रष्टाचार र ढिलासुस्तिलाई न्युनिकरण गरि सुशासनयुक्त सर्वसुलभ जनताको सेवामा लाग्न र हालै आर्थिक क्षेत्रमा फड्को मार्ने गरि दैलेखमा पेट्रोलियम पदार्थको अध्ययन अनुसन्धान भई उत्खनन गर्न सकिने सम्भावना भएको तथ्य फेला परेकाले उक्त कार्यलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउने बैठकले प्रस्ताव पारीत गरेको छ ।



















