खाेज्नुहाेस

‘हाम्रो गोदावरी, हाम्रो अभियान’ को आयव्यय विवरण सार्वजनिक

Image
अत्तरिया – कैलालीको अत्तरियामा ४ वर्ष अघि सुरु भएको ‘हाम्रो गोदावरी, हाम्रो अभियान’ को आयव्यय विवरण सार्वजनिक गरिएको छ । शुक्रवार अत्तरियामा रहेको मालाखेती अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानमा सहभागी युवाहरूले आयव्यय विवरण सार्वजनिक गरेका हुन ।
attariya hospital
अभियानका अभियन्ता प्रमोद अधिकारीले अभियानको जम्मा आयव्यय विवरण सार्वजनिक गरेका थिए । २०७८ साल जेठ २ गतेदेखि सुरु भएको अभियानमा जम्मा २२ लाख ३६ हजार ६२४ रुपैयाँ सङ्कलन भएको अभियानका संयोजक अधिकारीले बताए । जसमा स्थानीय स्तरबाट सङ्कलन भएको २१ लाख ३० हजार २५८ रुपैयाँ र व्याजबाट आएको १ लाख ६ हजार ३६६ रुपैयाँ रहेको उनले बताए । उनका अनुसार अभियान अन्तरगत खण्ड खण्डमा कामहरू हुँदा केही रकम बैङ्कमा नै जम्मा भएका कारण सो रकमको ब्याज पनि आम्दानीमा जोडिएको हो ।
अभियानमा सङ्कलन भएको रकमबाट मालाखेती अस्पतालमा विभिन्न सामग्रीहरू जडान गरिएको अधिकारीले बताए । उनले विशेषतः अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने लक्ष्य लिईएपनि अभियानमा बचेको रकमले अन्य सामग्रीहरू पनि सहयोग गरिएको बताए । उनका अनुसार अभियानबाट मालाखेती अस्पतालमा अप्रेसन थिएटर जडान गरिएको थियो । सो जडानमा १० लाख ५ हजार ६९५ रुपैयाँ लागेको बताइएको छ ।
यस्तै अक्सिजन पाइप लाइन सेटअपमा ४ लाख ८३ हजार ४७०, डेढ टन इन्भर्टर एसीमा ८६ हजार ५००, रेफ्रिजिरेटर खरिदमा ४९ हजार ९५०, बेबी वार्मरमा ७९ हजार १००, सोडियम पोटासियम एनलाइजरमा १ लाख ६८ हजार २५७, फोटो थेरापी मेसिनमा १ लाख २६ हजार ५६०, ई सिजी मेसिनमा ८० हजार र अक्सिजन ग्यास चेम्बर खरिद एवम् जडानमा ५ हजार ७०७ रुपैयाँ खर्च भएको बताइएको छ ।
त्यति मात्रै नभई सङ्कलन भएको रकमबाट अपरेसन थिएटर कोठाको पर्दा सेटअपमा २२ हजार ५००, सो कोठामा टायल र सिमेन्ट लगाउँदा २० हजार ४७९, टायल र प्लाई फिटिङमा ११ हजार, प्लाइ र स्क्रुमा ६ हजार ३२५, पेन्ट र पुटिङमा ६ हजार ३५९ र सो कोठामा लाइटका लागि ५० हजार रुपैयाँ खर्च भएको अधिकारीले बताए । उनका अनुसार बाँकी रहेको ३१ हजार २२२ रुपैयाँ भने उठ्न सकेन ।
अभियानमा जम्मा २६ लाख ६ हजार २ सय ५ रुपैया उठेकोमा ५ लाख ५६ हजार अक्सिजन कन्सन्ट्रेटरको लागी त्यतिबेलै खर्च गरिएको संयोजक अधिकारीले बताए । उनले सो बाहेकको बाँकी रहेको रकमको मात्रै विवरण सार्वजनिक गरिएको बताए ।
navjiwan hospital
अभियान सञ्चालन गर्नुको उद्देश्य
४ वर्ष अघि कोभिड–१९ को महामारी सुरु भयो । सो महामारीमा अक्सिजन अभावका कारण मानिसहरूले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएको थियो । सो अवस्थालाई कम गर्न अत्तरिया क्षेत्रका केही युवाहरूले मिलेर अत्तरियामै रहेको मालाखेती अस्पतालमा १० वटा अक्सिजन कन्सन्ट्रेटर दिने भन्दै अभियान सञ्चालन गरेका थिए । सो अभियानले महामारीका कारण सृजित अक्सिजन अभावलाई कम गर्न अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने लक्ष्य लिएको थियो ।
‘अहिले सम्पूर्ण नगर क्षेत्रमा कोभिड चेकजाँच गर्न एन्टिजेन टेस्ट किटको अभाव हुनुका साथै नगरपालिकाको मुख्य अस्पताल मालाखेतीमा बेडहरू उपलब्ध भए पनि अक्सिजनको अभाव देखिएको छ’ अभियानका संयोजक अधिकारीले सो समयमा भनेका थिए ‘यहाँको अक्सिजनको समस्यालाई कम गर्न तत्काल अत्तरियाका १३ जना युवाहहरु मिलेर यो अभियान सुरु गरेका छौ ।’ अक्सिजन कन्सन्ट्रेटर दिने लक्ष्यका साथ सञ्चालित अभियानमा बढी रकम सङ्कलन भएपछि भने अभियानमा सहभागी युवाहरूले अस्पतालमै औजार/उपकरणहरू जडान गर्ने बताएका थिए ।
आयव्यय विवरणमा ढिलाइ
सो अभियानको आयव्यय विवरण ४ वर्ष पछि मात्रै सार्वजनिक भएको छ । २०७८ साल जेठ २ गतेबाट सुरु भएको सो अभियानमा करिब १८/२० दिनमै रकम सङ्कलन भैसकेको थियो । तर सामाजिक सञ्जालमार्फत आयको विवरण सार्वजनिक गरिएपनि व्ययको विवरण भने सार्वजनिक भएको थिएन । अभियानका संयोजक अधिकारीले अस्पतालका सामग्रीहरूलाई खण्ड खण्डमा जडान गर्नुपरेका कारण व्यय विवरण सार्वजनिक गर्नमा ढिलाइ भएको बताए ।
‘अभियानमा आबद्ध हामी सबै युवाहरू अस्पतालमा आवश्यक पर्ने औजार उपकरणहरूका बारेमा त्यति जानकार थिएनौ, तर पनि सामग्री दिनुपर्छ भन्ने उद्देश्यले विभिन्न सप्लायर्सहरुसँग सहकार्य गर्ने काम गरिरह्यौ’ उनले भने ‘अप्रेसन थिएटर त हामीले त्यति बेलै जडान गरिसकेका थियौ, केही अन्य सामग्रीहरू पनि त्यति बेलै जडान भएका थिए, तर केही सामग्रीका कारण ढिलाइ भयो ।’
उनले अभियानको व्यय विवरण सार्वजनिक गर्नमा भएको ढिलाइ प्रति क्षमा याचना समेत गरे । ‘अस्पतालमा केही समय अघि मात्रै पनि हामीले ई सिजी मेसिन जडान गरेका छौ’ उनले भने ‘खण्ड खण्डमा काम हुँदा ढिलाइ भयो, त्यसका लागि हामी सम्पूर्ण सहयोगीदाता र नगरबासीहरु प्रति क्षमाप्रार्थी छौ ।’