अत्तरिया – आर्थिक वर्ष २०७८/०७९ मा कैलालीको गोदावरी – ३ चौकिडाँडामा इन्डोर ब्याडमिन्टन कोर्ट निर्माण गर्न प्रदेश सरकारले १५ लाख रुपैयाँ विनियोजन ग¥यो । प्रदेशको सामाजिक विकास मन्त्रालयले १ करोड ३० लाख लागत स्टमेट भए पनि पहिलो वर्ष कोर्टको फाउन्डेसन तयार गर्न १५ लाख विनियोजन गरेको थियो । तर, त्यसपछि उक्त योजना सम्पन्न गर्नका लागि थप बजेटको जोहो नहुँदा हाल ब्याडमिन्टन कोर्ट अलपत्र छ ।
कोर्टको २०७९ माघ १४ गते प्रदेश सांसद प्रकाश बमले उद्घाटन गरेका थिए । सो क्रममा ब्याडमिन्टन कोर्टका लागि आवश्यक रकमको जोहो गर्ने बताएका उनी हाल प्रदेशको अर्थ राज्यमन्त्री बनेका छन् । चालु आर्थिक वर्षमा कोर्ट निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ । तर, उक्त रकमले कोर्टको छानो मात्रै निर्माण हुने निर्माण कम्पनी महेश डेभलपर प्रालिका प्रतिनिधि विष्णु खड्काले बताए । उनले स्टमेट अनुसार कोर्टमा हाल उठाइएका ८ फिटका पिल्लरमा १८ फिट थप गरेर छानो मात्रै लगाइने बताए ।


कोर्ट निर्माणका लागि सामाजिक विकास मन्त्रालय अन्तरगतको सामाजिक विकास कार्यालयले यही वैशाखमा सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त काम असार मसान्तमा सक्नुपर्ने छ । निर्माण कम्पनीले उक्त कामका लागि बिलोमा १८ लाखमा ठेक्का सम्झौता गरेको छ । चालु आर्थिक वर्षको बजेटले छानो बने पनि भित्ताको काम पनि अधुरो रहने भएकाले कोर्ट पुन अलपत्र पर्ने अवस्था छ ।

अत्तरियाका ब्याडमिन्टन खेलाडी धिरेन्द्र बोहराले बर्खाको समयमा हावाहुरी र पानीका कारण ब्याडमिन्टन खेल्ने वातावरण नहुने बताए । उनले तीन वर्ष अघि कोर्ट बन्ने कुरा सुने पनि अझै सम्म बन्न नसकेको बताए । जसका कारण खेलाडीहरू मर्कामा परेको उनको गुनासो छ ।
‘सरकारी बजेटबाट कोर्ट निर्माण हुने भनेको तिन वर्ष भइसक्यो अझै बन्न सकेको छैन’ उनले भने ‘कोर्ट नहुँदा बर्खाका समयमा हावाहुरी र पानीले खेल्नै मिल्दैन, समस्या छ ।’ उनले कोर्ट निर्माण भएको भए दैनिक रूपमा खेल खेल्न मिल्ने मात्रै नभई ठुला प्रतियोगिताहरू पनि आयोजना गर्न सकिने बताए । उनले प्रतियोगिताहरू आयोजना गरिँदा अत्तरिया क्षेत्रको व्यापार व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

पछिल्लो समय अत्तरिया क्षेत्रमा ब्याडमिन्टन खेल्ने खेलाडीहरूको सङ्ख्या बढ्दै गइरहेको छ । बालक देखि अधवैशे सम्मका व्यक्तिहरूले समेत खेल्न मिल्ने भएकाले ब्याडमिन्टनको क्रेज दिनानुदिन बढ्दै गए पनि इन्डोर खेलमैदान नहुँदा यहाँ समस्या हुने गरेको छ । यहाँका क्लब तथा अन्य विभिन्न संघसंस्थाहरुले ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नका लागि पनि धनगढी धाउनुपर्ने बाध्यता अझै समाधान हुन सकेको छैन ।
गत वर्ष अत्तरियाकै संस्थाले ब्याडमिन्टन इन्डोर कोर्ट अभावका कारण प्रदेश स्तरीय प्रतियोगिता धनगढीमा आयोजना गर्नुपरेको थियो । अत्तरियामा इन्डोर कोर्ट नहुँदा यहाँ ब्याडमिन्टन खेल्ने खेलाडी हुँदा हुँदै पनि कुनै पनि ठुला प्रतियोगिताहरू आयोजना हुन सकेका छैनन् । जसका कारण खेलाडीहरूको मनोबल कमजोर बन्ने अवस्था आउन थालेको छ ।

















