अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध वितरण आयोजना (डीडीसी) रोक्न यस क्षेत्रका जनता देखि जनप्रतिनिधि एकमत देखिएका छन् । बुधवार डीडीसी प्राङ्गणमा आयोजना गरिएको छलफल कार्यक्रममा सहभागी स्थानीय र जनप्रतिनिधिले डीडीसी सार्न नहुने भन्दै ऐक्यबद्धता जनाएका हुन । हाल डीडीसी रोक्न स्थानीयले आयोजना गरेका आन्दोलनमा कार्यक्रममा पनि स्थानीय सरकारका जनप्रतिनिधि र प्रदेश सभा सदस्यहरूले ऐक्यबद्धता जनाएका छन् ।
प्रदेश सभा सदस्य एवम् विशेषाधिकार समितिकी सभापति तुलसी देवकोटाले अत्तरियामा बनेको डीडीसीको संरचनालाई जान नदिनका लागि स्थानीयले गरेका कार्यक्रममा आफ्नो ऐक्यबद्धता रहेको बताइन । उनले डीडीसीका बारेमा सदनमा पनि कुरा उठाएकाले यसलाई अत्तरियामै रोक्नका लागि आफूहरूले पनि पहल गर्ने बताइन् । डीडीसीलाई रोक्न यस क्षेत्रका जनता एकजुट हुनुपर्ने बताउँदै उनले डीडीसीका बारेमा प्रदेश सरकारलाई जानकारी दिनुका साथै प्रदेश सरकारका कृषि मन्त्रीलाई यहाँको अवलोकन गराइसकेको बताइन् ।


प्रदेश सांसद जानकी पौडेलले १४ वर्ष देखि अत्तरियामा सञ्चालनमा रहेको डीडीसीलाई सार्दा यस क्षेत्रका किसान समस्यामा पर्ने बताइन् । ‘डीडीसीलाई जसरी पनि यस क्षेत्रमा रोक्नुपर्छ’ उनले भनिन ‘यस क्षेत्रका जनताले दुःख मिहेनत गरेर यसलाई अगाडि बढाउनु भएको छ । अहिले कुनै व्यक्तिको स्वार्थका लागि यसलाई सारिनु हुँदैन ।’ उनले समस्या समाधान नहुँदा सम्म जनतालाई आवाज उठाउन आग्रह गर्दै आफूले पनि जनताका कार्यक्रममा साथ दिने बताइन् । उनले डीडीसी सम्बन्धी यस क्षेत्रका जनताको माग नै आफूहरूको माग रहेको बताइन् ।
गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले कुनै पनि हालतमा डीडीसीलाई यस क्षेत्र बाट जान नदिइने बताए । उनले सामुदायिक वनको जग्गा उपलब्ध गराउन समय लाग्छ भनेर गलत ब्रिफिङ गरेर कार्यालय प्रमुखले अफवाह फैलाएको बताए । उनले सङ्घीय कृषि मन्त्री, डीडीसी संस्थानलाई डीडीसीलाई जग्गा उपलब्ध गराउन सक्ने बारेमा जानकारी दिइसकिएको बताए ।
उनले डीडीसी अत्तरियाका कार्यालय प्रमुख गैर जिम्मेवार तरिकाले प्रस्तुत भएको बताए । ‘कार्यालय प्रमुखले कार्यालयमा तालाबन्दी हुँदा पनि कुनै किसिमको समन्वयन गरेका छैनन् । न सुरक्षा निकाय सँग समन्वयन गरेका छन्’ उनले भने ‘कार्यालय प्रमुखले समन्वय गरिदिनु पर्ने हो तर, कार्यालयमा तालाबन्दी हुँदा आरामले घरमा बसेका छन् ।’ उनले यस्ता कार्यालय प्रमुखलाई प्रहरीले थुन्नुपर्ने बताए ।


स्थानीय विनोद विष्टले डीडीसीका हाकिमले अत्तरियामा जग्गा पाइएन भनेर धनगढीमा पनि भाडाको घरमा सार्न खोजिएको बताए । उनले अत्तरियामा जग्गा खोज्नको लागि स्थानीय सरकारले पनि तदारुकता देखाउनु पर्ने बताए । उनले स्थानीय सरकारले धेरै जग्गा नदेखाएर निश्चित एक जग्गा तोकिदिनु पर्ने बताए । उनले स्थानीयको मागको बेवास्ता गरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
स्थानीय बाबुराम बलाम्पाकीले अत्तरियाबाट २४ किलोमिटर टाढा धनगढीको कनेरीमा लग्दा अनावश्यक खर्च हुने बताए । उनले चलिरहेकै अवस्थामा सार्नको लागि अनावश्यक खर्च गर्न उपयुक्त नहुने बताए । मुख्य सेन्टरमा भएको डीडीसीलाई कुनामा लगेर जाँदा झन् क्षति हुने बताउँदै उनले टाढा लग्दा ढुवानी खर्च पनि बढ्ने बताए ।
कारखानामा तालाबन्दी
यसैबिच बुधवार स्थानीयले डीडीसीको कारखानामा पनि एक घण्टा तालाबन्दी गरेका छन् । यसअघि डीडीसीको कार्यालयमा तालाबन्दी गरेका स्थानीयहरूले बुधवार कारखानामा पनि तालाबन्दी गरेका हुन । डीडीसी धनगढी सार्न लागिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको एक हप्ता भइसक्दा पनि समन्वय र छलफलका लागि डीडीसीका तर्फबाट चासो नै नदिएको भन्दै कारखानामा पनि तालाबन्दी गरिएको सङ्घर्ष समिति संयोजक लोकराज पाण्डेय आगोले बताए ।
उनले आन्दोलनका कार्यक्रम अन्तरगत बिहीबार बिहान ९ः३० देखि एक घण्टा चक्का जाम गर्ने र कारखानामा पनि एक घण्टा ताला लगाउने बताए । डीडीसी धनगढी सार्ने विवाद चर्किदा स्थानीयले जेठ ८ गते देखि डीडीसी कार्यालयमा ताला लगाएर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

















