अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) लाई अत्तरियामै रोक्न जग्गा खोज्ने प्रक्रिया चलिरहँदा डीडीसीका कार्यालय प्रमुखले सार्ने सम्झौता भइसकेको बताएका छन् । बिहीबार सार्ने काम सुरु भएको भन्दै स्थानीयले डीडीसीको कार्यालयमा पुगेर सोधपुछ गर्दा कार्यालयका प्रमुख निरञ्जन भट्टराईले सार्ने सम्झौता भइसकेको भन्दै अब रोक्न नसकिने बताएका हुन । उनले माघ महिनामै अत्तरियाबाट धनगढी सार्ने सम्झौता भइसकेकाले अब नरोकिने बताएपछि स्थानीयले विरोध जनाउँदै १ घण्टा कार्यालय प्रमुखलाई कार्यकक्षमा थुनेका थिए भने प्रहरीले कार्यालय प्रमुखलाई बाहिर निकालेपछि स्थानीयले तालाबन्दी गरेका छन् ।
कार्यालय प्रमुख भट्टराईले माघ महिनामै धनगढी सार्ने सम्झौता भइसकेको बताए पनि हालसम्म उक्त कुरा गोप्य राखेका छन् । बिहीबार कार्यालय प्रमुख भट्टराईले एक्कासि डीडीसी सार्ने सम्झौता माघ मै भएकाले अब नरोकिने बताए पनि उनले सम्झौता पत्र भने देखाउन मानेनन् । सुरुमा आधिकारिक रूपमा सूचना माग गर्न निवेदन दिन लगाएका उनले पछि सम्झौता पत्र केन्द्रीय कार्यालयमा रहेको भन्दै आलटाल गरेपछि स्थानीय झन् भड्किएका थिए । बिहीबार तालाबन्दी गरेका स्थानीयले शुक्रवार देखि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् ।


जग्गा प्राप्तिका लागि बनेको कार्यदलका संयोजक एवम् वडाध्यक्ष गोपाल दत्त भट्टले जग्गा खोजीको काम जारी हुँदा हुँदै सुटुक्क हाकिमले धनगढी सार्ने सम्झौता गरेको बताए । ‘पुस महिनामा जग्गा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले अत्तरियाबाट डीडीसी नसार्नु होला हामी तपाईँलाई जग्गा उपलब्ध गराउँन्छौ भन्दा वहाँले (कार्यालय प्रमुख) जग्गाको व्यवस्थापन गर्नुस् हामी सर्दैनौ भनेपछि हामीले जग्गा खोज्ने प्रक्रिया थालेका थियौ’ उनले भने ‘यता तिर हामीलाई जग्गाको व्यवस्थापन गर भनेर उता भित्र भित्री हिसाबमा गएर धनगढी तिर सार्नको लागि सहकार्य गर्ने कुरा सुनेपछि हामी सबै आक्रोशित भएका हौ ।’
उनले कार्यालय प्रमुखलाई आवश्यक पर्ने जग्गा संरचना बनाउने सहयोग गर्ने भन्दा पनि आनाकानी गरेको बताए । ‘मैले सम्झौता गरिसके अब केही गर्दैन भने’ उनले भने ‘सम्झौता कागज दिनुस् भन्दा पनि आनाकानी गरेका छन् । हामीलाई ठग्ने काम गरे ।’ उनले एक वर्ष भित्रमा जग्गा उपलब्ध गराउने बताउँदै यसका लागि डीडीसीले सहकार्य गर्नुपर्ने बताए ।
स्थानीय लोक राज पाण्डे (आगो) ले हाकिम लगायत डीडीसीको माथिल्लो निकायसम्म कुरा गर्दा पनि अत्तरियाबाट खुसुक्क सार्ने तयारी गरिएको बताए । ‘यहाँबाट जग्गा सारेको खण्डमा हामी कुनै पनि हालतमा छोड्नेवाला छैनौ’ उनले भने ‘वहाँले सूचना माग्दा पनि नदिएपछि कार्यालयमा थुनेर आन्दोलनमा उत्रिएका हौ । हाम्रो अब चरणबद्ध आन्दोलन हुन्छ ।’ उनले डीडीसीमा भ्रष्ट्राचार पनि भएको आरोप लगाए ।


पुर्ववडाध्यक्ष शर्मानन्द भट्टले जग्गा व्यवस्थापनका लागि नजिकै रहेको चाहना महिला सामुदायिक वन सँग सहमति लिइसकेको भए पनि डीडीसीका हाकिमले राती राती सामान सारिरहेको बताए । उनले स्थानीयको आवाजलाई सामान्य रूपमा लिइए आन्दोलन चर्किने बताए । स्थानीय धर्म सिंह कुँवरले हाकिमले कसैको कुरा नसुनेर मनोमानी गरेकाले आन्दोलनका कार्यक्रम अगाडि बढाएको बताए । उनले हाकिमलाई सूचना माग्दा पनि आफूहरूलाई केटाकेटी खेलाएजस्तो कुरा गरेको बताए । उनले सार्ने मुख्य भूमिका हाकिमको भएको बताउँदै यो पक्रिया नरोकिए सशक्त आन्दोलन गर्ने बताए ।
पहिलो पटक अत्तरियामा जग्गा नपाइएको भन्दै डीडीसीलाई धनगढी सार्ने कुरा बाहिरिएपछि पुस १६ गते स्थानीयले डीडीसी कार्यालयमा पुगेर विरोध जनाएका थिए । त्यसको भोलिपल्ट अत्तरियामै जग्गा खोज्ने भन्दै गोदावरी नगरपालिकाका नगरप्रमुखको नेतृत्वमा बसेको बैठकले जग्गा खोज्ने कार्यदल गठन गरेको थियो । त्यसपछि डीडीसीका लागि अत्तरियामा जग्गा खोज्न विभिन्न प्रयास गरिएको बताइए पनि अहिले सम्म जग्गाको टुङ्गो भने लाग्न सकेको छैन ।
यसअघि वैशाख २ गते डीडीसी सँगै मिल्क पाउडर प्लान्ट स्थापना गर्नको लागि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा नेतृत्वको टोलीले अत्तरियामा रहेको चाहना महिला सामुदायिक वन र दिव्य रोजिन एण्ड टर्पेन्टाईनको जग्गाको अवलोकन गरेको थियो ।
यसबिचमा ४ जना सांसद पनि डीडीसी अत्तरियामा रोक्न लागेका थिए भने मुख्यमन्त्री कमल बहादुर शाहलाई पनि ज्ञापन पत्र बुझाइएको थियो । वैशाख ३१ गते पनि नगरप्रमुख वीरेन्द्र भट्टले डीडीसी कार्यालय प्रमुखलाई नगरपालिकामा बोलाएर तत्काल सार्ने प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका थिए ।
अत्तरियामा २०६७ मा स्थापना भएको डीडीसी अहिले कृषि उपज थोक बजारलाई मासिक २५ हजार ६८० रुपैयाँ भाडा तिरेर सञ्चालनमा रहेको छ । डीडीसीले हाल कैलाली सहित कञ्चनपुर र डडेल्धुराको आलितालका गरी करिब ६ हजार किसानको दूध सङ्कलन गर्दै आएको छ । यस्तै उत्पादित दुग्धजन्य पदार्थ दिपायल, डडेल्धुरा, अत्तरिया, धनगढी, टीकापुरमा बिक्री गर्दै आएको छ ।
डीडीसी अत्तरियामा प्रत्यक्ष रूपमा ३० जना (१६ जना करार, १४ जना स्थायी) ले रोजगारी पाएका छ । डीडीसीको क्षेत्र विस्तार गर्न आवश्यक भएको भन्दै उक्त कार्यालयले गोदावरी क्षेत्रमा जग्गा नपाइएको भन्दै धनगढी उपमहानगरपालिका – १५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमा सार्ने बताइँदै आएको छ ।

















