डडेल्धुरा– डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) एक्लै चुनावी मैदानमा होमिने भएको छ । यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाली कांग्रेस निकट नेविसंघ एक्लै चुनावी मैदानमा उत्रिने भएको हो ।

क्याम्पसमा नेविसंघ विरुद्ध अन्य सबै विद्यार्थी संगठनहरु एक भएका छन । नेविसंघले गौरव ऐरलाई सभापतिको उम्मेदवार बनाएको छ । नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले कुनै पनि संगठनसंग गठबन्धन नगरी एकल रुपमा चुनावी मैदानमा उत्रिएको बताए ।

यता नेविसंघविरुद्ध नेपाल विद्यार्थी संघ (वीपी) को नेतृत्वमा संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ । उक्त प्यानलबाट सभापतिमा नेविसंघ (वीपी) का मदन बोहरा उम्मेदवार छन् । सचीवमा अनेरास्ववियुका रजन कैनी, कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)का जयकला बिक उम्मेदवार रहेका छन् ।
यस्तै, कर्ण धामीको नेतृत्वमा स्वतन्त्र प्यानल पनि चुनावी मैदानमा उत्रिएको छ । निर्वाचनमा पाँच सय ५२ विद्यार्थीहरु मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । सयुक्त प्यानलका तर्फबाट सभापतिका उम्मेदवार रहेका बोहरा ०७९ चैतमा भएको स्ववियु निर्वाचनमा पराजित भएका थिए ।
















