खाेज्नुहाेस

अत्तरियाको अलपत्र कोल्ड स्टोर, जसलाई हेर्न विश्वप्रकाशले रद्द गरे प्लेन टिकट

Image

अत्तरिया – कैलालीको अत्तरियामा एउटा यस्तो कोल्ड स्टोर छ जुन निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । सुदूरपश्चिमकै मुख्य तरकारी तथा फलफूलको बजारमा कोल्ड स्टोर अलपत्र पर्दा कति किसानको तरकारी कुहिएर माटोमा विलय भयो लेखा जोखा छैन । ढिलासुस्तीको पनि हद पार गरेको कोल्ड स्टोर सञ्चालनका लागि यस क्षेत्रका व्यवसायी, किसानले पटक पटक हारगुहार गर्दै आएका छन् । ‘नेताहरूलाई भन्दा भन्दा थाकिसके’ उमेरले ७८ कटेका कृषि उपज थोक बजारका अध्यक्ष नन्दलाल भट्टले भने ‘स्थानीय सरकार बजार निध्याउन नै लागिरहेको छ । प्रदेश सरकारलाई १० पटक भनिसके सुन्दैन ।’

नेताहरूलाई भेटेर कोल्ड स्टोरको पीडा सुनाउने क्रममा सोमबार अध्यक्ष भट्ट धनगढीमा नेपाली कांग्रेसको सम्मेलनमा पुगेका थिए । त्यहाँ मञ्चबाट बाहिर आएको मौकामा महामन्त्री विश्व प्रकाश शर्मालाई भेटेका भट्टले उनीबाट स्थलगत  अवलोकन गर्ने आश्वासन पाए । सोही आश्वासन पुरा गर्न मंगलबार साँझ कृषि उपज थोक बजारमा पुगेका महामन्त्री शर्माले तत्काल मुख्यमन्त्री कमल बहादुर शाहलाई फोन गरेर कोल्ड स्टोरको काम चाँडो अगाडि बढाउन ध्यानाकर्षण गरे । एक साता भित्र कुनै प्रगति नभए पुनः आफूलाई फोन गरेर जानकारी दिन उनले आग्रह गरे ।

add everest academy
attariya hospital
navjiwan hospital

मंगलबार साँझ काठमाण्डौं फर्किन ५ः५५ को प्लेन टिकट काटेका शर्माले कोल्ड स्टोरमा पुग्ने बाचा पुरा गर्न टिकट रद्द गरेर आएका थिए । मंगलबार दिनभरि विभिन्न कार्यक्रममा सहभागी भएका शर्मा साँझ ढिला भएपछि प्लेन टिकट रद्द गरेर कोल्ड स्टोरमा पुगेका हुन ।  ‘सम्मेलनमा वहाँ (नन्दलाई भट्ट) लाई भेटेपछि यस क्षेत्रका कुरा सुनाउनु भयो । त्यति बेला हतार हतारमा धेरै कुरा गर्न सकिएन’ उनले भने ‘वहाँले ७८ वर्षको उमेरमा पनि जोस जागरका साथ यस क्षेत्रमा काम गरिरहनु भएको रहेछ । त्यसले म एक पटक यहाँ आउन खोजेको थिए ।’

सुरुमा संघीय सरकार मातहतमा काम सुरु भएको कोल्ड स्टोर हाल प्रदेश सरकार अन्तरगत रहेको छ । २०७५ सालमा १ करोड ५ लाखमा कोल्ड स्टोरको बाहिरी संरचना निर्माण गरिएको थियो । जसमा संघीय सरकारको ५० लाख, गोदावरी नगरपालिकाले ४५ लाख रुपैयाँ र कृषि बजार व्यवस्थापन समितिले १० लाख लागत साझेदारी थियो । त्यसपछि कोल्ड स्टोरमा आवश्यक उपकरण जडान गर्न प्रदेश सरकारले काम थालेको थियो । यसै वर्षको भदौमा कोल्ड स्टोरमा उपकरण जडानको काम सकिएको भए पनि सञ्चालनमा भने आउन सकेको छैन । तिनै तहका सरकारको अढाई करोड लगानी लागेको कोल्ड स्टोर सञ्चालनमा नआउँदा हाल यस क्षेत्रका किसानको तरकारी, फलफूल बिक्री नहुँदा कुहिने अवस्था रहेको छ ।

attariya technical collage

लामो समय देखि कोल्ड स्टोर सञ्चालनमा नआएपछि हाल सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले पनि चासो दिएको छ । समितिले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सँग कोल्ड स्टोरका कागजात माग गरेको छ । समितिले अत्तरियाको कोल्ड स्टोर सँगै प्रदेश भरमा अलपत्र परेका १० वटा कोल्ड स्टोरका कागजपत्रहरू माग गरेको हो । कृषि विकास निर्देशनालयमा निर्देशक खगेन्द्र प्रसाद शर्माले अत्तरियाको कोल्ड स्टोर बिजुलीको समस्याका कारण सञ्चालन नगरिएको समितिलाई जानकारी दिएका थिए ।