धनगढी– शसस्त्र प्रहरी बलको एपीएफ क्लब धनगढीमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सुपर फोरको खेलमा अर्काे विभागीय टोली त्रिभुवन नेपाल आर्मीलाई ६९ रनले पराजित गर्दै एपीएफ फाईनलमा प्रवेश गरेको हो ।
धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित १७ ओभरमा ३ विकेट गुमाएर १ सय १५ रन बनायो । एपीएफकी राजमती ऐरीले ३५, कविता जोशीले नटआउट ३४ रन बनाइन् । आर्मीकी सुष्मिता भुसालले २ विकेट लिइन् ।

११६ रनको विजयी लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लब १७ ओभरमा ४६ रनमा अलआउट भयो । उसका लागि राधिका पुजाराले १७ र कप्तान लक्ष्मी साउदले १० रन बनाए । आर्मीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी रेखा रावलले ४ विकेट लिइन् ।
सुपर–फोरमा २ वटै खेल जित्दै एपीएफ अपराजित रहेको छ । एपीएफ समूह चरणमा पनि अपराजित रहेको थियो । आजै सुपर–फोरको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेश खेल्दैछन् । यो खेलपछि फाइनल पुग्ने अर्काे टोलीको टुंगो लाग्नेछ । फाइनल खेल भोलि हुनेछ ।



















