अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ लालपुरमा रहेको जननौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको १०औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष बालकृष्ण ओझाको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया रहेकी थिईन । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष ओझाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संस्थाका लेखा समिति संयोजक पदम साउँद प्रस्तुत गरेका थिए । संस्थाको गत आर्थिक वर्षको विस्तृत विवरण एवम् आगामी आर्थिक वर्षका निति कार्यक्रमहरुका बारेमा संस्थाका व्यवस्थापक राज बहादुर शाहले प्रतिवेदन प्रस्तुत गरेका थिए ।


२०७१ साल पुष महिनामा २६ जना शेयरसदस्यहरु र ३ लाख ९० हजार शेयरपुजिँबाट स्थापना भएको संस्थामा हाल ८० लाख ७४ हजार १०० रुपैया शेयरपुजिँ रहेको छ । संस्थामा हाल १ हजार ४७० जना शेयरसदस्य रहेका छन । अघिल्लो वर्ष १ हजार २ सयको हाराहारीमा सदस्य संख्या रहेकामा संस्थाको प्रतिवेदन अनुसार हाल उक्त संख्या बढेको देखिएको छ ।
संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ७ करोड ९४ लाख ७७ हजार २६१ रुपैयाको कारोबार गरेको छ । जसवाफत संस्थाले उक्त आर्थिक वर्षमा १६ लाख ८३ हजार ७६८रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर सम्मान पनि गरिएको थियो । संस्थामा उत्कृष्ट बालबचत गर्ने बचतकर्ता, बन्द खाता खोलेका सदस्य तथा नियमित बचतकर्ताहरुलाई सम्मान गरिएको संस्थाका अध्यक्ष ओझाले बताए । उनका अनुसार संस्थालाई आर्थिक र भौतिक रुपमा सहयोग गर्ने स्थानिय लोक बहादुर साउँदलाई पनि दोसल्ला ओढाएर सम्मानीत गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीकी सहायक सिडियो किरन जोशी, गोदावरी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जगुराम चौधरी, वडा नं. ७ की वडाध्यक्ष कलावती साउँद लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् संस्थका सदस्यहरुको सहभागिता रहेको थियो ।

















