अत्तरिया – सुदूरपश्चिम चेम्बर अफ कमर्स, कैलाली चेम्बर अफ कमर्स र गोदावरी चेम्बर अफ कमर्सले सुदूरपश्चिमका ११ जना व्यवसायीलाई सम्मान गरेको छ । चेम्बरले मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यतामा आयोजना गरिएको व्यवसायीलाई सम्मान तथा उत्प्रेरणा कार्यक्रममा ११ जनालाई सम्मान गरेको हो । स्थानीय उत्पादन गर्ने ५ जना, कैलालीबाट धेरै कर तिर्ने ३ जना र प्रयटन क्षेत्रमा डिजिटल माध्यमबाट प्रचार प्रसार गर्ने ३ जना रहेका छन् ।

स्थानीय उत्पादन विधाबाट सम्मानित हुनेमा बेलौरी तोरी तेल उद्योगका खडक शाह, लटिनाथ कपडा उद्योगका सञ्चालक जगत बहादुर सिंह, आरडी अल्लो बाँस ऊन बुनाई उद्योगका सञ्चालक रुकुम सिंह धामी, गोदावरी आविष्कार केन्द्रका किरण भट्ट र कञ्चनपुरको शुक्लाफाँटामा हस्तकलाको काम गर्दै आएका भक्त बहादुर महरा रहेका छन् । त्यस्तै सुदूरपश्चिमका पर्यटकिय क्षेत्रलाई चिनाउन फोटो, भिडियोको माध्यमबाट प्रचार प्रसार गर्दै आएका दार्चुलाका हिमालयन भट्ट (फेरुवा युट्युब च्यानल), रोहित रोक्का (वाइल्ड बाजुरा युट्युब फेसबुक पेज) र साइकल यात्री भरत विक्रम शाही सम्मानित भएका छन् ।

कैलाली जिल्लाबाट धेरै कर तिर्ने ३ जना उद्यमीमा नास्ट कलेजका शिव हरी मुड भरी, ठाकुर एग्रो इन्डष्ट्रिजका हरि शंकर ठाकुर र भागेश्वरी फ्लोर मिलका लाल बहादुर बोगटी रहेका छन् । उनीहरूलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिमका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको आतिथ्यतामा सम्मान गरिएको थियो । नेपाल चेम्बर अफ कमर्सका सुदूरपश्चिम अध्यक्ष विनोद मल्लको सभाध्यक्षयतामा आयोजित कार्यक्रमको सञ्चालन पत्रकार गोविन्द रोस्याराले गरेका थिए ।

















