अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ बसन्तपुरमा रहेको समानता कृषि सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशन सम्पन्न भएको छ । शनिवार सहकारीकी अध्यक्ष खिमा देवी विकको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका – १ का वडा सदस्य गम्भीर साउद रहेका थिए ।

सभामा सहकारीका व्यवस्थापक विलियम सिंले साधारण सभाको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थामा आर्थिक वर्ष २०८१/८२ मा १७ लाख ४५ हजार ६८३ रुपैयाँ निक्षेप रहेको छ भने सो अवधिमा शेयर पुजी १० लाख ८७ हजार ५०० र कर्जा लगानी ३१ लाख १ हजार ९७३ रुपैयाँ रहेको छ ।
कार्यक्रममा सुरेश नेपालीले सहकारीको संक्षिप्त इतिहास प्रस्तुत गरेका थिए । उनले सहकारीलाई पहिलो पटक पार्वती भूल र दम्बरी कुन्जेडाले ५ सय रकम दिएर सुरूवात गरिएकाेमा हाल २३० सेयर सदस्य पुगाउन सफल भएको बताए ।

कार्यक्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष विलियम सिं लगायत गणेश नेपाली , गोपाल विक, बल बहादुर नेपाली , सुवास विकलाई सम्मान गरिएको थियो ।
नयाँ कार्यसमिति चयन
यसैबिच सहकारीको चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट खिमा देवी विक पुनः अध्यक्षमा चयन भएकी छिन । यस्तै उपाध्यक्षमा देव राज भट्ट, सचिव विलियम सिं, सञ्चालक सदस्यमा रमेश लुहार, सरस्वती कुमारी बिक, नरेश दमाई, दिपा देवि कामी चयन भएका छन ।
यसैबिच लेखा समिति संयोजक सविना नेपाली र सदस्यमा गणेश राज भट्ट र अनिता नागरी चयन भएका छन । चुनावी अधिवेशनमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्य राज जोशीको संयोजकत्वमा डिल्ली राज पनेरु, डण्डीराज भट्ट सदस्य रहेको निर्वाचन उपसमिति गठन गरी नयाँ कार्यसमिति चयन गरिएको थियो ।

















