अत्तरिया – महिलाहरू मात्रै सेयर सदस्य रहेको कैलालीको गोदावरी नगरपालिका – ८ मा रहेको सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था उत्पादन र प्रशोधनका काममा पनि जोडिन थालेको छ । आर्थिक कारोबारमा मात्रै सीमित नरही सहकारी प्रत्यक्ष रूपमा उत्पादन र प्रशोधनमा जोडिन थालेको हो । सहकारीले हाल जग्गा भाडामा लिएर बेसार खेती सुरु गरेको छ भने किसानबाट तोरीको दान सङ्कलन गरेर तेल उत्पादन पनि सुरु गरेको छ ।
सहकारीकी व्यवस्थापक गौरी चौधरीले बचत तथा ऋणको कारोबार मात्रै गर्दै आएकोमा अहिले कृषि सँग सम्बन्धित उत्पादन र प्रशोधनको काम पनि गर्न थालेको बताइन् । ‘हामीले यसअघि सेयर सदस्यहरूलाई ऋण लगानी तरकारी खेती लगायतका कृषिका काम गर्दै आएका थियौ’ उनले भनिन् ‘अहिले सहकारीबाटै बेसार खेती गरेका छौ । यस्तै सदस्यहरूलाई शुद्ध तोरीको तेल उपलब्ध गराउनको लागि तोरी सङ्कलन गरेर तेल बनाएर सेयर सदस्यहरूलाई वितरण गरिरहेका छौ ।’ उनले हाल तोरी मिलमा पेलेर वितरण गरिरहेको भए पनि निकट भविष्यमै आफै तोरी पेल्ने मेसिन खरिद गर्ने लक्ष्य राखिएको बताइन् ।


‘हामीले तोरीको तेलबाट नाफा नभए पनि आफ्ना सेयर सदस्यको स्वास्थ्यलाई मध्यनजर गरी तोरीको शुद्ध तेल उत्पादन गर्न थालेका हौ’ उनले भनिन् ‘अहिले तोरीको तेलमा धेरै मिसावट हुन थालेको छ । जसबाट विभिन्न रोगको जोखिम छ । हामीले सहकारीमा आबद्ध सेयर सदस्य स्वस्थ रहनु भन्नको लागि तोरीको तेल उत्पादन गरिरहेका छौ ।’ सहकारीकी अध्यक्ष भावना खड्काले सहकारी भित्र विभिन्न उपसमिति बनाएर उत्पादनको काम गरिरहेको बताइन् । उनले उपसमिति मार्फत हाल १ बिगाहामा बेसार खेती गरेको बताइन् ।
‘२०७९ सालदेखि बेसार खेती सुरु गरेका थियौ । ६ कट्ठाबाट खेती सुरु गरेकोमा पहिलो पटक ६० क्युन्टेल काँचो बेसार उत्पादन भएको थियो’ उनले भनिन् ‘अहिले १ बिगाहामा बेसार खेती गरेका छौ ।’ उनले प्रतिकट्ठा १५ सय भाडा तिरेर बेसार खेती गरेको बताइन् । उनले सुरुको वर्षमा नाफा नै नभए पनि घाटा पनि नभएको बताइन् । अहिले १ बिगाहामा बेसार खेती गरेकाले नाफा हुने अपेक्षा रहेको उनको भनाइ छ । उनले उत्पादन गरेको बेसार उपभोक्तालाई नै बिक्री गर्ने गरेको बताइन् ।
‘हामीले उत्पादन गरेको बेसार उपभोक्तालाई नै विक्री गर्ने गरेका छौ । बाहिरका व्यक्तिले किन्दा प्रतिकिलो ३ सय रुपैयाँ तोकेका छौ भने सहकारीका सेयर सदस्यले किन्दा प्रतिकिलो २८० र ५ किलो भन्दा बढी किनेमा २५० रुपैयाँ तोकेका छौ’ उनले भनिन् ‘अहिले कृषिमा अरू धेरै काम भएका छन् भनेर हामीले नयाँ कामको रूपमा बेसार खेती गरेका हौ । कृषिमा अरू किसानले बेसारको त्यति धेरै खेती गरेका छैनन् । यो खेती सहकारीबाट गर्दा सहज पनि छ । यो एक पटक खेती गरे धेरै मिहेनत पनि आवश्यक पर्दैन ।’
उनले सहकारीका सेयर सदस्यको स्वास्थ्यलाई ध्यानमा राखेर सहकारी उत्पादन र प्रशोधनमा जोडिएको बताइन् । ‘अहिले बाहिर धेरै मिसावट गरिएको बेसार, तेल पाइने गरेको छ’ उनले भनिन् ‘हामीले सेयर सदस्यलाई गुणस्तरीय बेसार, तेल उपभोग गर्न पाउन भन्ने उद्देश्यले आफै उत्पादन, प्रशोधनमा जोडिएका छौ ।’















