अत्तरिया– कैलालीको गोदावरी नगरपालिका – ८ मा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । बिहिबार एक औपचारीक कार्यक्रमका बीच सहकारीको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष भावना खड्काको सभापतित्वमा सम्पन्न सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बम रहेका थिए । कार्यक्रममा संस्थाको वार्षिक प्रगती प्रतिवेदन अध्यक्ष खड्काले, वित्तिय प्रतिवेदन तथा बजेट कोषाध्यक्ष गुम्मी चौधरीले र लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक गंगा कुमारी भट्टले प्रस्तुत गरेकी थिईन । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक गौरी चौधरीले गरेकी थिईन ।

संस्थाले साधारण सभालाई यसपटक फरक तरिकाले आयोजना गरेको थियो । साधारण सभाको अवसरमा संस्थाले यसपटक रक्तदान र सरसफाई कार्यक्रम आयोजना गरेको हो । सभाको पुर्वसन्ध्यामा संस्थाले सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।
संस्थाकी अध्यक्ष भावना खड्काले संस्थाले प्रत्येक महिनाको एक दिन सरसफाई कार्यक्रम आयोजना गर्ने निति लिएको बताईन । उनले उक्त नितिलाई अबलम्बन गर्न पहिलो पटक साधारण सभाको दिन सरसफाई कार्यक्रम आयोजना गरिएको बताईन । उनले वातावरणलाई स्वच्छ राख्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न पनि कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताईन ।
‘यहाँ केही व्यापारीक स्टलहरु पनि छन । त्यसबाहेक यो क्षेत्रकै मुख्य सामुदायिक विद्यालय पनि यहाँ अवस्थित छ’ उनले भनिन् ‘दैनिक जसो सयौँ विद्यार्थीहरुको आवतजावत भैरहने बाटो दुर्गन्धित भए विद्यार्थीहरुमा पनि नकारात्मक सन्देश जान्छ, त्यसैले पनि सरसफाई महत्वपुर्ण छ ।’ उनले आगामी दिनमा पनि संस्थाले निरन्तर रुपमा सरसफाई कार्यक्रम आयोजना गर्ने बताईन । संस्थाका सदस्यहरुले जमुनानगर चोक देखी दुर्गा भवानी माध्यमिक विद्यालयसम्म सरसफाई गरेका थिए ।

यसैबिच संस्थाले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ । साधारण सभाको अवसरमा रक्तदान नै जिवनदान भन्ने उद्देश्यलाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष खड्काले बताईन । उनले रगत अभावका कारण कुनै पनि व्यक्तिले अकालमै ज्यान गुमाउन नपरोस भन्ने संस्थाले लक्ष्य लिएको बताईन । स्याउले बजार व्यवस्थापन समितिसँगको सहकार्यमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । यसैबिच सहकारीको विकासमा सहयोग पु¥याउने विभिन्न शेयरसदस्यहरुलाई सहकारीले सम्मानित गरेको थियो ।
२०५९ साल वैशाखमा ४५ जना शेयरसदस्यको ४ हजार ५०० शेयरपुँजीबाट सुरु भएको सहकारीले २१ वर्षको अवधीसम्म आईपुग्दा आफुलाई वृहत बनाउन सफल भएको छ । संस्थामा आर्थिक वर्ष २०८०÷८१ को असार मसान्त सम्म ३ हजार २०१ जना शेयरसदस्य रहेका छन भने १८ करोड ६६ लाख ४० हजार ४११ रुपैया शेयरपुँजी रहेको छ । हालसम्म सहकारी विभिन्न संघसंस्थाबाट विभिन्न विधामा सम्मानित समेत भैसकेको छ ।
२६ करोडको कारोबार, ५२ लाख मुनाफा
संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा २६ करोड भन्दा बढीको कारोबार गरेको छ । संस्थाको वार्षिक प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा संस्थाले २६ करोड ३८ लाख ८ हजार ८४१ रुपैया आर्थिक कारोबार गरेको छ । जसवाफत संस्थाले ५२ लाख ३० हजार ५५० रुपैया मुनाफा आर्जन गर्न सफल भएको छ ।
सम्बन्धीत समाचार : सहकारी भनेका निजी बैंक नै हुन : अर्थ राज्यमन्त्री बम

















