खाेज्नुहाेस

प्रदेश मातहतका अस्पताल गेटामा गाभ्ने तयारी

Image

धनगढी – कैलालीको गेटा स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा पठनपाठनका लागि प्रदेश मातहतका अस्पताल गाभ्ने तयारी गरिएको छ । चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न सुदूरपश्चिम प्रदेश सरकार मातहतका अस्पताल संघ सरकार मातहतको गेटा अस्पतालमा गाभ्ने तयारी गरिएको हो ।

जसका लागि प्रदेश सरकारले आफू मातहतका अस्पताल गेटा अस्पतालमा गाभ्न तयार रहेको पत्र संघीय सरकारलाई पठाएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार नै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाइसकेको हो ।

attariya hospital

गेटामा चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा छिट्टै सुरु होस् भनेर प्रदेश सरकार मातहतका अस्पताल संघलाई हस्तान्तरण गर्ने तयारी गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । ‘हाम्रो मुख्य चासो गेटामा मेडिकल शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालन होस् भन्ने छ,’ उनले भने ।

navjiwan hospital

चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा पढाइ र अभ्यासका लागि कम्तीमा ३ सय शय्याको अस्पताल चाहिन्छ । गेटा अस्पतालले हाल ५० शय्या सञ्चालनको मात्र अनुमति पाएको छ । प्रस्तावित विश्वविद्यालयमा पठनपाठन थालिहाल्न प्रादेशिक अस्पताललाई अभ्यासका लागि प्रयोग गर्न सकिने प्रदेश सरकारले जनाएको छ ।

त्यसका लागि प्रदेश सरकारले औपचारिक प्रक्रिया सुरु गरिसकेको मुख्यमन्त्री शाहले बताए । ‘गेटामा मेडिकल शिक्षा सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकार जुनसुकै तहको पहल लिन पनि तयार छ,’ उनले भने ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । २०८० असोज १९ मा संसद्मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाले २०८० माघ १९ मा पारित गरेको थियो ।

कानुन बन्ने प्रक्रिया चलिरहेकै बेला प्रदेशका तर्फबाट आवश्यक पहल थालिएको मुख्यमन्त्री शाहले बताए । गेटामा विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालनका लागि संघ सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग निरन्तर छलफल भइरहेको पनि उनले जानकारी दिए ।