खाेज्नुहाेस

वडाध्यक्ष कप क्रिकेटको उपाधि शुक्लाफाँटालाई

Image

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभुलीमा आयोजित प्रथम डिवाइएस वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिका–७ ले हात पारेको छ ।

शनिबार भएको फाइनलमा आयोजक देखतभुली युवा समाजलाई पराजित गर्दै शुक्लाफाँटाले उपाधि चुमेको हो । ५७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको देखतभुलीलाई शुक्लाफाँटाले सात ओभरमा अलआउट गरेर नतिजा आफ्नो पक्षमा पारेको थियो ।

attariya hospital
navjiwan hospital

उपाधि विजेता शुक्लाफाँटाले ५१ हजार १५१ रुपियाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको देखतभुलीले २५ हजार ५०५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

विजेता र उपविजेतालाई एक कार्यक्रमकाबिच एमालेबाट प्रतिनिधिसभा सांसद तारा लामा तामाङ, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, वडाध्यक्ष पहलबहादुर थापा र कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्काले पुरस्कार प्रदान गरेका थिए ।

समापन समारोहमा बोल्दै कञ्चनपुर-१ बाट निर्वाचित सांसद लामाले ग्रामीण क्षेत्रमा क्रिकेट, फुटबल, भलिबल लगायत खेललाई माथि उकास्न यस्ता प्रतियोगिताले मद्दत पुग्ने बताए। ‘गाउँघरमा हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी जन्माउछ, कञ्चनपुरको दक्षिणी क्षेत्र आफैँमा खेलकुदको उर्वर भूमि हो,’ सांसद लामाले भने, ‘खेलकुदमा पर्याप्त बजेट विनियोजनका लागि जनप्रतिनिधिका हिसावमा सरकारसँग मेरो लविङ हुनेछ।’

लालझाडी गाउँपालिका-५ वडासँको सहकार्यमा देखतभुली युवा समाजले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागीता थियो।