बैतडी – बैतडीमा विद्यार्थी कुटपिट आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन । पुर्चौंडी नगरपालिका–९, तल्लादेहीस्थित खेती माध्यमिक विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारी विद्यार्थी कुटपिटको आरोपमा पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रधानाध्यापक भण्डारीमाथि सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीय विद्यार्थी तेजसिंह भण्डारीलाई कुटपिट गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब पौने १२ बजे प्रधानाध्यापक भण्डारीले विद्यार्थीमाथि हातखुट्टाले प्रहार गरी घाइते बनाएका थिए । कुटपिटबाट घाइते भएका विद्यार्थी तेजसिंह भण्डारीको तल्लादेही स्वास्थ्यचौकीमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि उनलाई धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रधानाध्यापक भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । विद्यालयमा शिक्षकबाट विद्यार्थीमाथि भएको कुटपिटको घटनाले स्थानीय स्तरमा चासो र चर्चा बढाएको छ ।

















