अत्तरिया – कैलालीको अत्तरियामा भोलिदेखि “खुल्ला पुरुष फुटबल मेयर कप–२०८३” प्रतियोगिता आयोजना हुने भएको छ । पिएफए स्पोट्र्स क्लब अत्तरियाको आयोजना असार ५ गते देखि १२ गते सम्म प्रतियोगीता संचालन हुने भएको हो ।

आयोजनकले बिहिबार अत्तरियामा पत्रकार सम्मलेनको आयोजना गर्दै ट्रफी र टाइसिट सार्वजनिक गरेको छ । प्रतियोगितामा नगरका १२ वडाहरू मध्ये १० वडाका टिमहरूको सहभागिता रहने जनाइएको छ । प्रतियोगिताका सबै खेल नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजकले जनाएको छ । सम्मेलनमा क्लबकी उपाध्यक्ष भगवती साउदले स्थानीय खेलकुदको विकास, प्रतिभाको पहिचान तथा युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइन् ।

यस्तै क्लबका महासचिव सिद्ध बोहराले क्लबले खेलकुद सँगै विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको बताए । प्रतियोगितामा सहभागी मध्ये उत्कृष्ट ६० जना खेलाडीलाई क्लबले दक्ष तथा अनुभवी प्रशिक्षकमार्फत विशेष प्रशिक्षण प्रदान गरिने उनले बताए ।
प्रतियोगीताको प्रथम पुरस्कार नगद ५० हजार सहीत ट्रफी प्रदान गरिने खेल संयोजक तथा क्लवका वरिष्ठ सल्लाहकार पूर्णमान खत्रीले बताए । यस्तै द्धितिय हुने टीमलाई नगद २५ हजार पुरस्कार दिइने छ । खेल अवधिभरि सर्वोउत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोल रक्षकलाई ५ हजार, उत्कृस्ट उदयमान खेलाडीलाई ५ हजार, उत्कृष्ट मिडफिल्डरलाई ५ हजार, उत्कृष्ट स्ट्राइकरलाई ५ हजार, प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई १ हजारले पुरस्कार प्रदान गरिने छ ।

















