बझाङ- बझाङको दुर्गाथली गाउँपालिका-२ झनाना बजार नजिक ट्याक्टर अनियन्त्रित भई सेती नदीमा खस्दा बेपत्ता भएका चालकसहितका दुई जनाको प्रहरीले खोजी गरिरहेको छ । ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सन्जय बुढा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती सेती नदीमा बगेर बेपत्ता भएका हुन् ।

उनीहरुको प्रहरी टोली र स्थानीयले खोजी गरिरहेका छन् । ट्याक्टरमा सवार जाजरकोटकै त्रिवेणी नलगाड नगरपालिकाका १५ वर्षीय हेमराज विक, २१ वर्षीय सपेन्द्र विक र १३ वर्षीय निरज विकको उद्धार गरी केदारस्युँ गाउँपालिका-९ झोता बजारमा रहेको भैरव स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर जोशीले बताए ।

बुधबार बिहान दुर्गाथलीको मौरीबगरबाट झनानातर्फ गरहेको सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सेती नदीमा खसेको थियो । ट्याक्टर दुर्गाथलीका देव ओडको रहेको र सेती लोकमार्गअन्तर्गत झनाना-जडार सडकखण्डमा दिव्या ज्योति कन्ट्रक्सनले भाडामा लिएको प्रहरीले जनाएको छ । उनीहरु जाजरकोटबाट उक्त सडकखण्डमा काम गर्न मजदुरको रुपमा बझाङ आएको प्रहरीको भनाइ छ ।

















