खाेज्नुहाेस

विधेयक पारित गरी गेटामा ३ सय शय्याको अस्पताल सञ्चालन गर्न माग

Image

अत्तरिया – सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनार्र्थ सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार सङ्घर्ष समितिले गेटामा सरकारले घोषणा गरेको दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयमा ३ सय शय्याको अस्पताल र विधेयक पारित गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा ६ सय शय्याको भन्दा बढीको अस्पताल सञ्चालनका लागि बनाइएका संरचनामा ५० शय्या मात्रै सञ्चालन गरेर उक्त परियोजनालाई तुहाउने प्रयास भएको भन्दै मेडिकल अध्ययन–अध्यापनका लागि आवश्यक पर्ने कम्तीमा ३०० शय्याको अस्पताल सञ्चालन गर्न माग गरिएको छ ।

attariya hospital
navjiwan hospital

सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) र सचिव धर्मसिंह कुँवरको हस्ताक्षरित ज्ञापन पत्रमा यही अधिवेशनमा स्वास्थ्य, विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक पास गर्न पनि माग गरिएको छ ।

‘स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनार्थ विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा छलफल पश्चात् शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिमा संशोधनका लागि पेस भइसकेको हप्तौँ बित्दापनी पारितका लागि विधेयक अगाडि नबढ्दा जनमानसमा आक्रोश देखिएको हुँदा यही संसदीय अधिवेशनबाट पारित गराउनका लागि पहल कदम समेत गरिदिन हुनका लागि हार्दिक अनुरोध गर्दछौँ’ ज्ञापन पत्रमा भनिएको छ ‘देश भरीमा पच्चिस भन्दा बढी मेडिकल कलेज प्रतिष्ठान सञ्चालन भइरहँदा यस प्रदेशमा एउटा पनि नहुनुमा राज्यको सुदूरपश्चिम प्रतिको हेर्ने हेपाहा दृष्टिकोण भएको हामीले ठहर गरेका छौँ ।’

ज्ञापन पत्रमा सङ्घीय राज्य सत्ताबाट पटक–पटक सुदूरपश्चिमेलीहरु प्रति गरिएको विभेद तथा अन्यायको सिलसिलाको रूपमा अहिले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ढिलाइ भइरहेको उल्लेख छ ।

यसअघि सङ्घर्ष समितिले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयक पारित गर्न माग गर्दै प्रशासन कार्यालय अगाडी एप्रोन लगाएर विरोध जनाएका थिए ।