बझाङ- बझाङमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोग, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङको आयोजनामा विज्ञ केन्द्रकै कार्यालयमा शिविर सञ्चालन गरिएको हो ।

उक्त दुई दिने कुकुर बन्ध्याकरण शिविरमा ७६ कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका डा विनोद बहादुर कठायतले बताए । छाडा कुकुरको जनसङ्ख्या घटाउनका साथै छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको लागि बन्ध्याकरण गरिएको उनले बताए ।

कुकुर बन्ध्याकरणसँगै रेबिज सङ्क्रमणमा पनि न्यूनीकरण आउने अपेक्षा गरिएको छ । शिविरमा छाडा छोडिएका र घरपालुवा कुकुरको पनि बन्ध्याकरण गरिएको थियो ।


















