बर्खे धान खेतीमा लगानी र जोखिम बढ्दै

अत्तरिया – गत वर्ष काटेर खेतमा सुकाउन राखेको ३ बिगाहा धान बाली बाढीमा डुबेर ठुलो क्षति व्यहोरेका टोपबहादुर चौधरी यस वर्ष असार १५ मै धान रोपेर सकेका छन् । गत वर्षको पीडाकै बिच उनले यस वर्ष बोरिङको महँगो पानीबाट सिचाइ गरेर धान रोपेका हुन । अहिले महँगो पानीले सिचाइ गरेका टोपबहादुरलाई वर्षातको पानीले धान डुबाउने चिन्ता भने अझै मनबाट हटेको छैन ।

maya metro hospital

कैलालीको गोदावरी नगरपालिका – १ का टोपबहादुरले पानी नपर्दा यस वर्ष सिचाइमा मात्रै ३० लिटर डिजेल सकिएको बताए । डिजेलको सट्टा विद्युतीय बोरिङ भए खर्च कम लाग्ने भए पनि तत्काल त्यसको जोहो गर्न नसकेको उनको भनाइ छ । ‘लगानी त धेरै लागेको छ । खै नाफा हुने हो की होइन । अहिले भन्न सकिने अवस्था छैन’ उनले भने ‘गत वर्ष सबै धान बाढीले डुबायो । यो वर्ष केही होलाकी भन्ने आस छ भर छैन ।’ उनले गत वर्ष भएको धानको क्षतिपूर्ति सरकारले दिने भने पनि आफूले भने नपाएको बताए ।

टोपबहादुर जस्तै बेदली चौधरीको पनि १३ कट्टामा रोपाइ गरेर सकेकी छिन । तर, उनी पनि मिहेनत गरे अनुसारको फल आउने हो वा होइन भन्नेमा ढुक्क छैनन् । ‘रोपाई गर्न त हरेक वर्ष गरिरहेकै हुन्छौ तर, नाफा घाटा, के हुने हो केही भन्न सकिन्न’ बेदलीले भनिन् ‘सबै कुरा भगवान् भरोसा छ ।’ उनले जोखिम न्यूनीकरणको लागि बिमा हुने बारेमा जानकारी नभएको बताइन् ।

attariya hospital

एकातिर धान रोप्दा आकाशे पानीको भर पर्नुपर्ने अर्कोतिर त्यही आकाशे पानीले बाली भित्र्याउन पाउँछौ की पाउँदैनौ भन्ने पीडाका बिच किसान अहिले खेतमा खटिएका छन् । अधिकांश किसान नाफा घाटा र जोखिमको बिना लेखाजोखा खेतीमा होमिएका छन् ।
‘हामी अगाडि नै यस्तो योजना बनाएर त धान रोपाई गर्दैनौ’ गौरीगंगा नगरपालिका – १ का किसान प्रकाश थापाले भने ‘अहिले प्राकृतिक प्रकोप सँगै तराईका जिल्लामा छाडा चौपायाको कारण पनि धान खेतीमा जोखिम बढेको छ ।’

राष्ट्रिय कृषक समूह महासंघ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका थापाले अहिले अधिकांश किसान सामान्य दिनचर्याका लागि मात्रै खेतीपाती गरिरहेको बताए । ‘अहिले पहाडमा आधा धान खेती गर्ने क्षेत्रफल नै घटिसक्यो । तराईमा पनि खेती प्रति आकर्षण घट्दै छ’ उनले भने ‘यही अवस्था रहेमा धान खेती झन् घट्ने जोखिम छ ।’ उनले पछिल्लो समय अचानक आइपर्ने प्राकृतिक प्रकोपले किसानलाई झन् जोखिममा पारेको बताए । उनले अर्कोतर्फ सिचाइ, मल, बिउमा लगानी बढे पनि सो अनुसार धानको मूल्य निर्धारण नुहुँदा किसान मारमा परिरहेको बताए ।

आधा खेत बाँझै

कैलालीमा असार १५ सम्ममा आधा खेत बाझै रहेको छ । आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले अझै धेरै किसानले रोपाइँ गर्न पाएका छैनन् । देशै भरी मनसुन फैलिएको भनिए पनि सुदूरपश्चिममा अझै रोपाइँ नै गर्न मिल्ने गरी पानी परेको छैन ।

६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती हुने कैलालीमा त्यसको आधा भन्दा कम मात्रै रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कैलालीका योजना शाखा प्रमुख श्याम राज जोशीले बताए । उनले गत वर्ष जस्तै यस वर्ष पनि मनसुन सक्रिय हुन ढिलाइ हुँदा रोपाई कम भएको बताए । तर, गत वर्ष भने असार १५ सम्ममा कैलालीमा ३० प्रतिशत मात्रै रोपाइँ सकिएको थियो ।

योजना शाखा प्रमुख जोशीका अनुसार हाल कैलालीमा ५२ प्रतिशत खेतमा मात्रै सिचाइ सुविधा पुगेको छ । तथ्याङ्कमा ५२ प्रतिशत सिचाइ पुगेको भए पनि अधिकांश सिचाइका श्रोत भरपर्दा नहुँदा किसानहरूले भने समस्या झेल्दै आएका छन् । अहिले पनि धेरै किसान बोरिङको पानीबाट सिचाइ गर्दै आएका छन् । तर, मनसुन सक्रिय नहुँदा बोरिङमा कम पानी आउने र खर्चिलो पनि हुने गरेको छ ।

चैते धानमा नाफा बढी जोखिम कम

परम्परागत चलन अनुसार गरिने बर्खे धानको विकल्पमा अहिले किसानहरू चैते धान खेती तर्फ आकर्षित हुन थालेका छन् । वर्षातमा डुबान बढी हुने भएकाले किसानहरू जेठ असारमै भित्र्याउन मिल्ने चैते धान खेती गर्न थालेका छन् । कैलालीमा यस वर्ष १ हजार १ सय हेक्टर क्षेत्रमा चैत धान खेती गरिएको थियो ।

कैलालीमा चैते धान खेतीको प्रवर्धनका लागि प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तरगत कृषि जोन क्षेत्र छुट्टाएर काम भइरहेको छ । परियोजना अन्तरगत भजनी नगरपालिकाको वडा नम्बर ३, ६ र ८ जोशीपुर गाउँपालिकाको १, २, ३, ४ र ५ जानकी गाउँपालिकाको वडा नम्बर ४ मा धान जोन क्षेत्र घोषणा गरिएको वरिष्ठ कृषि अधिकृत तथा प्रधानमन्त्री कृषि परियोजना कैलालीका प्रमुख गोविन्दराज जोशीले बताए । उनले कृषि जोन अन्तरगत ५ सय हेक्टरका कार्यक्रम लागू गरेर विशेष गरेर चैते धान खेतीका लागि बढी जोड दिइरहेको बताए । उनले यस वर्ष चैते धानलाई प्रवर्धन गर्ने उद्देश्यले १७२ हेक्टरमा खेती गरिएको बताए ।

उनले चैते धानको प्रवर्धनका लागि साना सिचाइका कार्यक्रममा पनि जोड दिइएको बताए । ‘यस वर्ष हामीले साना सिचाइ स्यालो ट्वुबेल सहित ५२ वटा सिचाइ सहयोग गरेका छौ । त्यस्तै ४५ हेक्टरमा चक्लाबन्दी गरेर खेती गरेका छौ’ उनले भने ‘हामीले चैते धानमा बढी फोकस गरेका छौ ।’ उनले चैते धानको खेती गर्दा बर्खे धानको भन्दा बढी उत्पादन लिन सकिने बताए । ‘चैते धान तोरी र बर्खे धान बिचको ग्यापलाई सदुपयोग गर्ने हो । यसरी खाली रहेको समयमा गरिने चैते धानको उत्पादकत्व बर्खे धानको भन्दा धेरै हुन्छ’ उनले भने ‘बर्खे धान प्रतिकट्टा बढीमा २ क्विन्टल फल्छ भने चैते धान प्रतिकट्टा ३ क्विन्टल सम्म फल्ने गरेको छ । किसानले अहिले प्रति बिगाहा चैते धान ६० क्विन्टल सम्म फलाएका हामीसँग रेकर्ड छन् ।’

उनले चैते धानको खेती गर्ने किसानले मुख्य पनि राम्रो पाएको बताए । उनका अनुसार गत वर्ष किसानहरूले २८ सय देखि ३४ सय सम्म चैते धानको मूल्य पाएकोमा यस वर्ष किसानले ३५ सय सम्म प्रति क्विन्टल धानको मूल्य पाएका छन् । चैत धान खेती विस्तार गर्न सके धान उत्पादन बढ्नुको साथै किसानले पनि बढी फाइदा लिन सक्ने उनी बताउन्छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.