महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन साढे तिन अर्बका ठेक्का, काम सुस्त

अत्तरिया – महाकालीको पानी कैलालीको मालाखेती सम्म ल्याउन हाल पाँच प्याकेजमा काम भइरहेको छ । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूल नहर निर्माणका लागि हाल पाँच प्याकेजमा काम भइरहेको हो । ३ प्याकेजमा नहरको ब्रह्मदेव देखि फुलेली सम्म २८ किलोमिटर काम सम्पन्न भएर गत असारमा पानी परीक्षण गरिएकोमा सो भन्दा अगाडिको नहर निर्माणको लागि गत वर्ष नै ५ प्याकेजमा ४ निर्माण कम्पनी सँग करिब साढे ३ अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको थियो ।

maya metro hospital

जसअनुसार चौथो र पाँचौ प्याकेजको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको छ । जसको भौतिक प्रगति २ प्रतिशत मात्रै रहेको महाकाली सिँचाई तेस्रो चरण आयोजनाका इन्जिनियर कविराज सन्जेलले बताए । उनका अनुसार छैटौँ प्याकेजको निर्माणको काम गरिरहेको श्री गितार निर्माण सेवाले ३० प्रतिशत काम सम्पन्न गरेको छ भने सातौँ प्याकेजको १० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सातौँ प्याकेजको निर्माणका लागि आरोग्य थेगिम सँग ठेक्का सम्झौता भएको छ ।आठौँ प्याकेजको निर्माणको काम गरिरहेको नेपाल आदर्श सेड जेभीले १५ प्रतिशत काम सम्पन्न गरेको छ । उक्त कम्पनीका प्रतिनिधि केशव राज पन्तले कुल २९ यस मिटर मध्ये ९ सय मिटर क्षेत्रमा काम सञ्चालनमा रहेको बताए । जसमा कल्भर्ट निर्माणको काम पनि भइरहेको छ ।

मूल नहरका पाँच वटै प्याकेजको निर्माण अवधि २०८२ असार मसान्त सम्म रहेको महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयले जनाएको छ । नहर निर्माण भएमा महाकालीको पानी कैलालीको गोदावरी नदीमा छोडिने छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा २०६४ सालबाट निर्माण सुरु भएको मूल नहरको फुलेली सम्म हाल २२ वटा शाखा नहर निर्माणको काम पनि जारी रहेको छ ।

attariya hospital

आयोजना अन्तरगत ब्रह्मदेवदेखि चुरे फेदी हुँदै कैलालीको मालाखेती र कञ्चनपुरको त्रिभुवनवस्तीसम्म १ सय ५२ किलोमिटर मूल नहर निर्माण हुनेछ । आयोजनाका नहर निर्माण भएमा झन्डै ४० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने लक्ष्य राखिएको छ ।

महाकाली सन्धि भएको १० वर्षपछि निर्माण थालिएको नहरको कामले केही वर्षयता गति लिएको भए पनि कामको गति सुस्त नै छ । बिस २०५२ माघ २९ मा नेपाल र भारतबिच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८ दशमलव ३५ घन मिटर प्रतिसेकेन्ड तथा सुक्खा याममा ८ दशमलव ५० घन मिटर प्रतिसेकेन्ड पानी पाउने सम्झौता भएको थियो । यो पानी उपयोग गर्नका लागि नेपालले १ सय ५२ किलोमिटर लामो मूल नहर सँगै १ सय ७२ किलोमिटर लामो शाखा नहर र १ हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्ने छ ।

विगतमा जग्गा विवाद, बजेट अभाव जस्ता कारणले निकै सुस्त गतिमा अघि बढिरहेको यो योजनाको काम सञ्चालनका लागि चालु आर्थिक वर्षमा भने २ अर्ब बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कामका लागि २ अर्ब विनियोजन गरेको घोषणा गरेका थिए । आयोजनाको लागि चालू आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब १७ करोड रुपैयाँ बजेट छुट्टाइएको थियो । आगामी आर्थिक वर्षको बजेटबाट महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूल नहर र त्रिभुवन बस्ती लगायत शाखा नहर विस्तारको काम अघि बढाइने जनाइएको छ ।

रानी जनमाराको प्रगती ७० प्रतिशत मात्रै

महाकाली संन्धी देखि नै चर्चामा रहेको महाकाली सिँचाइ आयोजनाको काम सुस्त गतिमा अघि बढिरहँदा सुदूरपश्चिमकै ठुलो राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाइ आयोजना निर्माणको काम पनि निरासाजनक छ । आयोजना सुरु भएको डेढ दशक पुग्न लागेको छ । आर्थिक वर्ष २०६७/६८ बाट निर्माण कार्य थालेको आयोजनाकोे हाल ७० प्रतिशत काम सम्पन्न भएको आयोजनाका सूचना अधिकारी नवीन पौडेलले बताए ।

उनले आयोजना अन्तरगत हाल सिञ्चित क्षेत्रमा स्टक्चर बनाउने काम भइरहेको बताए । परम्परागत सिँचाइलाई आधुनिकीकरण गर्ने उद्देश्यले काम सुरु गरिएको यो आयोजना सम्पन्न भएमा कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्की चुहा नगरपालिका, पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंपुर, नारायणपुर, मुनुवा, भजनी, घोडाघोडी नगरपालिका गौरीगंगा नगरपालिकाको करिब ३८ हजार हेक्टर जग्गामा सिँचाई सुविधा पुग्ने जनाइएको छ ।

आयोजनाको निर्माण लागत नेपाल सरकार, विश्व बैंकको ऋण र उपभोक्ताको श्रमदानसमेत कूल २७ अर्ब ७० करोड २४ लाख रहेको छ । विश्व बैंकतर्फको आयोजनाको पहिलो चरणको काम सन् २०१२ बाट सुरु भई सन् २०१७ सम्म भएकोमा दोस्रो चरणको काम जारी रहेको छ ।

जुन सन् २०१८ बाट सुरु भई २०२५ जुलाई १५ मा सकिने सूचना अधिकारी पौडेलले बताए । सिँचाइ आयोजनाबाट २०८० साल माघ १६ गते रातिबाट विद्युत उत्पादन सुरु भई लम्की स्थित १३२ केभी प्रसारण लाइनमा जोडिसकिएको छ । सुदूरका तराइका जिल्लामा ठुला सिँचाइ योजनाको काम अपेक्षित नहुँदा अहिले यस क्षेत्रका किसान अहिले भूमिगत साना सिँचाइ योजनामै निर्भर रहने गरेका छन् । साना भूमिगत सिँचाइ प्रणालीबाट सुख्खा मौसममा पानी आउन मुस्किल हुने भएकाले किसानलाई समयमै खेती गर्न समस्या हुँदै आएको छ ।

गोदावरीका किसान भान सिंह विकले पछिल्लो समय साना खोलाहरूमा पनि पानी सुक्न थालेकाले सिँचाइको लागि समस्या हुन थालेको बताए । ‘पहिले खोलाबाट गाउँलेहरू मिलेर कुलो बनाएर सिँचाइ गथ्र्यौ’ उनले भने ‘अहिले मुलमै पानी छैन । कसरी सिँचाइ गर्ने ।’ उनले बोरिङको पानी पनि सुख्खा मौसममा घट्ने भएकाले समस्या हुने गरेको बताए । सिँचाइ साना योजना भरपर्दा नभएकाले ठुला योजना निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.