रुपक खड्का/बझाङ – बझाङको मष्टा गाउँपालिका– ५ का निबर्तमान वडा अध्यक्ष कम्मान आग्रिको निधन भएको छ। स्वच्छ छवि भएका भद्र, सालीन नेताका रूपमा परिचित आग्रिको शुक्रबार निधन भएको हो ।
केहि महिना अघि स्वास्थ्यमा समस्या देखीएपछि धनगढीको निसर्ग अस्पतालमा उपचार गराएर उनि घर फर्किएका थिए ।


२०७४ सालको स्थानीय तहको निर्वाचनमा मष्टा गाउँपालिका वडा न ५ मा नेकपा एमाले बाट निर्वाचित भएका उनि दलित समुदायका पहिलो वडा अध्यक्ष समेत रहेका थिए ।
समाज रुपान्तरणमा सधैं अग्रसर देखिने आग्रि दलित समुदायमा हुर्केपनि उनको सोच भने निकै दुरदर्शि रहेको वडाबासीहरुले बताउने गरेका छन । आग्रीको निधन भएपश्चात गाउँकै एक जना युवाले सामाजिक सञ्जालमा उनको निधनको बारेमा श्रद्धाञ्जली दिदै लेखेका छन – ‘सबै मानिस एउटै हौँ । मान्छे फरक हुँदैन भनेर समाजमा एकता कायम राख्ने उहाँका कामलाई हामी सधैभरि स्मरण गरिरहनेछौ ।’
गाउँघर छरछिमेकसँग कुनै स्वार्थ नलिएर उल्टै समाजको विकासका लागि केही गर्नुपर्छ भन्ने भावना भएका पुर्ब वडा अध्यक्षको ५४ बर्षको उमेरमै भएको अकल्पनिय निधनले गाउँबस्ती नै शोकमा रहेको स्थानिय गणेश बुढाले बताएका छन्।
‘उहाँ यो संसारबाट सधैका लागि अस्ताए पनि गाउँ घर, छरछिमेक, बाटोघाटो, पानीपधेरा र विद्यालय लगायतका थुप्रै ठाउँहरुमा आफ्ना यादहरु छोडेर अस्ताउनुभएको छ’ उनले भने । त्यस्तै आग्रिको निधनपछि गहिरो दुस्ख व्यक्त गर्दै मष्टा गाउँपालिका गाउँकार्यापालिकाको कार्यालयले एक सरल र त्यागी नेतृत्व गुमाएको भन्दै विज्ञप्ती मार्फत संबेदना प्रकट गरेको छ।
उनको शनिबार बिहान करिब १० बजे भोपुरको सिम्भाडि आर्यघाटमा दाहासस्कार गरिने उनका आफन्तले जानकारी दिएका छन ।


















