अत्तरिया – सुदूरपश्चिममा बुधबार भएका आगलागीका ३ घटनामा ७ लाखको क्षति भएको छ । कैलाली र बाजुरामा भएका आगलागीका घटनामा ६ लाख ८० हजारको क्षती भएको हो ।

कैलालीको जोशीपुर गाउँपालिका – २ मा दिनेश जेठाराको भान्सा कोठामा खाना पकाउनको लागि बालेको आगोबाट भान्सा कोठा संगै जोडीएको १ कोठे कच्ची गोठमा आगलागी हुँदा २ वटा बाख्राको जलेर मृत्यु भएको छ भने ३ वटा बाख्रा घाईते भएका छन । आगलागीबाट खाद्यान्न, साईकल लगायतका समानहरू गरी १ लाख ८० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै कैलालीकै गौरीगंगा नगरपालिका – १ का तुल बहादुर पहराईको २ तले जस्तापाताले छाएको कच्ची गोठमा आगलागी हुँदा गोठ र गोठ भित्र रहेको काठपात, भुसा लगायतका सामानहरु गरी साढे ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरले जनाएको छ । उक्त आगलागीमा मानबिय क्षती नभए पनि १ वटा भैसी र १ वटा बाख्रा जलेर सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट बाजुराको बुढिनन्दा नगरपालिका – १ तल्लो कोल्टी बजारमा रहेको एक घर जलेको छ । स्थानीय माने लुहारको घरमा बिजुलीको तार सर्ट भइ आगलागी हुँदा खाद्यान्न, लत्ता कपडा, ल्यापटप लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

















