टी–२० विश्वकपको उद्घाटन खेल हुने रंगशालामा हावाहुरीले ग-यो क्षति
काठमाडौँ – आईसीसी टी–२० विश्वकपको उद्घाटन खेल हुने अमेरिकाको डलासस्थित ग्रान्ड प्रेयरी क्रिकेट मैदानमा वर्षा र हावाहुरीले क्षति गरेको छ ।
बेलायती सञ्चारमाध्यम बिबिसीले उक्त खेल मैदानमा मंगलवार रातभरि नै ठूलो पानी परेको जनाएको छ । ८० माइल प्रतिघण्टाको वेगमा चलेको हावाहुरीले मैदान वरिपरिको संरचनामा समेत क्षति गरेको जनाइएको छ ।
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रवक्तालाई उद्धृत गर्दै दर्शक बस्ने प्यारापिटमा पनि क्षति पुगेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । तर यसले विश्वकपका खेलमा असर नपर्ने आईसीसीका प्रवक्ताले बताएका छन् ।
आईसीसी टी–२० विश्वकप यही जेठ २० गते (जुन २) देखि वेस्ट इण्डिज र अमेरिकामा शुरु हुँदै छ । ग्रान्ड प्रेयरी क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिष्पर्धा हुनेछ ।