डोटी – डोटीमा शिविर चलाउने नक्कली डाक्टर पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय डोटीले राजपुरमा स्वास्थ्य शिविर चलाउने नक्कली डाक्टर सहित २ जनालाई पक्राउ गरेको हो ।

स्वास्थ्य शिविर सञ्चालन गरेर ठगी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री नामका नक्कली डाक्टर र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिन अघि अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा स्वास्थ्य शिविर सञ्चालन गरेका थिए ।
डाक्टर भूपेन्द्र नाम बताउने क्षेत्री र गुनीयालको सहयोगमा वडा कार्यालयले शिविरको आयोजना गरेको थियो । शिविर वैशाख २७ गतेदेखि ३० गतेसम्म ४ दिन सञ्चालन भएको थियो । शिविरमा दुई सय ३० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । बिरामीहरुबाट होल बडी चेकअप भनेर पाँच सयका दरले एक लाख १५ हजार असुल गरिएको थियो । स्वास्थ्य परीक्षण गराउने अधिकांश बिरामीहरुलाई रोग निको हुने भन्दै रु. पाँच हजारका दरले ब्रासलेट, एटिएम जस्तो कार्ड खरिद गर्न लगाइएको थियो ।
















