सहुलियतको ऋणले स्वरोजगार बनेकाहरू

अत्तरिया – चौध वर्षकै उमेरमा रोजगारीका लागि भारत हानिएका टेक बहादुर कामीले २० वर्ष उतै बिताए । आफ्नो जवानी भारतमै काम गरेर बिताएका उनी अहिले ४० काटेपछि भने स्वदेशमै रमाउने अवसर पाएका छन् । भारतको सोलापुरमा होटेलमा २० वर्ष काम गरेका उनको कमाइले घर चले पनि बचत भएन । परिवार भन्दा टाढा बसेर सधैँ अरूको काम गर्ने इच्छ्या मर्दै गएपछि उनले आफ्नै ठाउँमा भारतमा सिकेको सिप प्रयोग गर्ने योजना बनाए । तर, सोचे अनुसारको होटेल सञ्चालनका लागि आवश्यक रकमको जोहो नहुँदा समस्यामा परेका उनले एक वर्ष अघि सहुलियतमा बिना धितो ऋण पाएपछि भने अहिले व्यवसायमा स्थापित भइसकेका छन् ।

maya metro hospital

‘सहुलियत ऋण पाएर व्यवसाय गर्न पाएपछि एकदमै खुसी लागेको छ । अहिले दैनिक बचत गर्छु । त्यसैबाट किस्ता तिरिराखेको छु’ कैलालीको गोदावरी नगरपालिका – ३ चौकिडाँडामा होटेल सञ्चालन गरेका टेकले भने ‘सुरुमा दैनिक १२ सय देखि १५ सय सम्म बचत भएको थियो । हिउँदमा अलि व्यवसाय घट्ने रहेका अहिले ७/८ सम्म दैनिक बचत गर्छु ।’

उनले सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश स्वरोजगार विकास कोषबाट बिना धितोमा मालाखेती बहुउद्देश्यीय सहकारी मार्फत ५ प्रतिशत व्याजमा ३ लाख ऋण पाएका थिए । ब्याजदर कम भएकाले उक्त ऋण लिएर व्यवसाय सञ्चालन गर्न निकै सहज भएको उनको भनाई छ । उनले सहुलियतमा ऋण पाएपछि सोही रकमबाट सटर भाडामा लिएर होटेलका लागि आवश्यक कुर्सी टेबल, भाँडाकुँडा किनेर डेकोरेसन गरेको बताए ।

attariya hospital

भारतमा भन्दा आफ्नै देशमा स्वरोजगार भएर काम गर्न पाउँदा निकै खुसी लागेको उनको भनाइ छ । ‘परिवार सँगै बसेर व्यवसाय गर्न पाउँदा निकै खुसी लागेको छ । यहाँ दिनमा २ सय कमाए पनि खुसी लाग्छ’ उनले भने ‘भारतमा कुक भएपछि २५ हजार सम्म कमाउने भइसकेको थिए । तर, त्यो भन्दा यहाँ कम कमाई भए पनि छुटै आनन्द आउँछ ।’

१ वर्ष अघि स्वरोजगार विकास कोषकै २ लाख विना धितो सहुलियत ऋण पाएकी कमला देवी पार्कीले पनि हाल बाख्रा पालन गरेकी छिन । गोदावरी नगरपालिका – ३ की कमलाले यसअघि १८ प्रतिशत सम्म ब्याजदरमा ऋण लिँदा व्यवसाय गरेर व्याज तिर्नै मुस्किल हुने गरेकोमा स्वरोजगार विकास कोषको सहुलियत व्याज पाएपछि सहज भएको बताइन् ।

‘सहुलियतको ऋणबाट गोठको छानो बनाए, ३ बाख्रा, बोका र जर्सी गाई किने’ उनले भनिन् ‘अहिले ६/६ महिनामा किस्ता तिर्छु । ३० हजार किस्ता आउँछ । सस्तो व्याजमा ऋण पाउँदा व्यवसाय गर्न सहज भएको छ ।’

स्वरोजगार विकास कोषकै २ लाख विना धितो सहुलियत ऋण पाएकी तुली पार्कीले पनि अहिले बाख्रा पालनबाट ऋण तिर्ने र घर खर्च चलाउँदै आएको बताइन् । उनको गोठमा हाल ५ माउ बाख्रा, ४ खसी, पाठा पाठी र एक गाई रहेको छ ।
१ वर्ष अघि सहुलियतको ऋणबाट व्यवसाय सुरु गरेकी उनले बाख्रा बेचेरै किस्ता तिरिरहेको बताइन् । उनले एक वर्षमा ५ वटा खसी बाख्रा बेचेको बताइन् । उनले बाख्रा विक्री गर्न समस्या नभएको बताइन् ।

चौकिडाँडामै बिजुली पसल सञ्चालन गरेका हरि संकर जोशीले पनि स्वरोजगार कोषको रकम पाएपछि व्यवसाय बढाउन सहज भएको बताए । किराना पसल सञ्चालन गर्दै आएका उनले सहुलियतमा स्वरोजगार कोषको रकम पाएपछि बिजुली पसल पनि थप गरेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश स्वरोजगार विकास कोष ऐन पारित गरेर सहकारीमार्फत २०७९ पुस देखि थोक कर्जा प्रवाह अभियान सञ्चालन गरेको थियो । अभियान अन्तरगत पहिलो चरणमै छनोटमा परेको मालाखेती बहुउद्देश्यीय सहकारीले पाएको ८० लाख हाल ३० जनाले सहुलियत ऋण पाएका छन् । सहकारीका व्यवस्थापक लाल बहादुर खड्काले स्वरोजगारको कार्यक्रम पाएपछि ३० जनालाई २ देखि ३ लाखका दरले ऋण उपलब्ध गराएको बताए । ‘हामीले सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषको मापदण्ड अनुसार विदेश जान नचाहेर स्वदेशमै स्वरोजगार बन्न चाहने, विदेश गएर आएर स्वदेशमै केही काम गर्न चाहनेलाई छनोट गरेर गोदावरी नगरपालिकाको वडा नम्बर ३ र १० सहकारीका सदस्यलाई सहुलियत ऋण दिएका छौ’ उनले भने ‘अहिले ऋण लिएका सबैले व्यवसाय गरेका छन् । सबैले सजिलो तरिकाले किस्ता व्याज पनि तिरिरहेका छन् ।’ उनले ५ प्रतिशत व्याजमा उपलब्ध हुने स्वरोजगार विकास कोषको रकम ५ वर्षमा तिरिसक्नुपर्ने मापदण्ड रहेको बताए ।

प्रदेश स्वरोजगार कार्यक्रमलाई अघि बढाउन आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्य मार्फत १ अर्ब रकम विनियोजन गरिएको थियो । बजेट कार्यान्वयनमा ल्याउन २०७६ जेठ १२ गते प्रदेश सभाबाट सुदूरपश्चिम प्रदेश सरकारले ‘प्रदेश स्वरोजगार विकास कोष ऐन’ पारित गरेको थियो । ऐन पारित भएको ३ वर्ष पछि मात्रै कार्यान्वयनमा आए पनि हाल प्रदेशका ९ वटै जिल्लाका १ सय वटा सहकारी मार्फत कार्यक्रम सञ्चालनमा रहेको सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक चूडामणि तिम्सिनाले बताएका छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.