महेन्द्रनगर – कञ्चनपुरमा खैरो हिरोइनजस्तो देखिने अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला डोटी, दिपायल सिलगढी नगरपालिका–८ लडागडा घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा कोठा गरी बस्दै आएका २३ वर्षीय रमेश कुञ्जेडा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ ऐठपुरस्थित लिटिल स्टार स्कुल नजिक गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उनको साथबाट ४२० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो।
पक्राउ परेका कुञ्जेडामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

















