खाेज्नुहाेस

करेन्ट लागेर गम्भीर घाइते भएकी लम्कीकी विमलाका आफन्तद्वारा उपचार खर्च र क्षतिपूर्ति दिन माग

Image

अत्तरिया – विद्युत् करेन्ट लागेर गम्भीर घाइते भएकी कैलालीको लम्कीचुहा नगरपालिका–२ की विमला बजगाईँ (तिमिल्सेना) को उपचार खर्च र क्षतिपूर्ति दिन माग गरिएको छ । बुधवार नेपाल विद्युत् प्राधिकरणको सुदूरपश्चिम कार्यालयमा पुगेका स्थानीय र आफन्तले कार्यालय प्रमुख हरि प्रसाद पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग राखेका हुन ।

घाइते विमलाका जेठाजु टेकराज तिमिल्सेनाको हस्ताक्षर रहेको ज्ञापन पत्रमा लम्कीचुहा नगरपालिका–२ निवासी ओमप्रकाश तिमिल्सेनाकी श्रीमती विमला भदौ ७ गते लम्कीचुहा–३ डुडेझारी जंगलनजिक पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको रुखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएको उल्लेख छ । रुखको छेउबाट गएको नेपाल विद्युत् प्राधिकरणको उच्च भोल्टेजको मुख्य प्रसारण लाइनको तारमा छोइँदा उनलाई करेन्ट लागेको पत्रमा उल्लेख छ ।

attariya hospital

करेन्ट लागेर गम्भीर घाइते भएकी विमलाको हाल कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । पत्रमा मानव बस्ती तथा राजमार्ग नजिकै रहेको उच्च भोल्टेजको प्रसारण लाइनका तारहरू रुखका हाँगासँग छोइने अवस्थामा रहनु, नियमित अनुगमन तथा मर्मत सम्भारको अभाव हुनु र जोखिम न्यूनीकरणका लागि समयमै रुखका हाँगा नकाटिनु गम्भीर लापरबाही भएको उल्लेख गरिएको छ ।

त्यस्तै, विद्युत् करेन्टको उच्च जोखिमबारे स्थानीयलाई सचेत गराउन पूर्व सूचना वा सङ्केत बोर्ड नराखिनुले पनि प्राधिकरणको गैर जिम्मेवारी देखिएको पत्रमा उल्लेख छ । न्यूनतम सुरक्षा मापदण्डको पालना र प्रविधिको प्रयोगमा समेत लापरबाही हुँदा घटना भएको आरोप लगाइएको छ ।

navjiwan hospital

यस्ता छन् ज्ञापन पत्रमा चार बुँदे माग

पीडित परिवारले प्राधिकरणसँग विमलाको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्न माग गरेको छ । उपचारका क्रममा थप विशेषज्ञ वा उच्चस्तरीय स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था आए त्यसको खर्चसमेत प्राधिकरणले व्यहोर्नुपर्ने माग गरिएको छ ।

यस्तै, पीडितका आश्रित नाबालक छोराछोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च प्राधिकरणले जिम्मा लिनुपर्ने, दुर्घटनाबाट परिवारको लालन पालनमा उत्पन्न भएको गम्भीर सङ्कटलाई दृष्टिगत गर्दै घाइतेका श्रीमान् ओमप्रकाश तिमिल्सेनालाई योग्यता अनुसार नेपाल विद्युत् प्राधिकरणमा तत्काल रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

मागहरू निर्धारित समयभित्र सम्बोधन नभए प्राधिकरण तथा सम्बन्धित निकायविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ । आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण क्षति तथा परिस्थितिको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणले लिनुपर्ने पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझ्दै कार्यालय प्रमुख हरि प्रसाद पाण्डेले घटनाको बारेमा समिति गठन गरेर रिपोर्ट केन्द्रमा पठाउने बताए । उनले उपचारमा लाग्ने खर्च विद्युत प्राधिकरण बेहोर्ने बताउँदै घाइते बिमलाका श्रीमानको रोजगारीका लागि पहल गर्ने बताए ।

ज्ञापन पत्र घाइेतेका मामा ससुरा चेतराज शर्माले विद्युत प्राधिकरणको प्रदेश कार्यालय प्रमुख पाण्डेलाई बुझाएका थिए । ज्ञापन पत्र बुझाउन लम्कीबाट लम्कीचुहाका पुर्व नगर प्रमुख महादेव बजगाँई लगायत स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधि आफन्त कार्यालय पुगेका थिए ।