काठमाडौं । क्यान्सर नाम सुन्नेबित्तिकै हाम्रो सात्तो जान्छ । क्यान्सर भइसकेपछि यसको उपचारमा पैसा, घरघडेरी त सकिन्छ नै, कतिपय अवस्थामा बिरामीको ज्यानै जाने पनि हुन्छ । समयमै यसको लक्षणमा विचार पु¥याइयो भने यसको असरलाई कम गर्न सकिन्छ । क्यान्सरको जोखिम र खानपानबीच महत्वपूर्ण सम्बन्ध हुने विभिन्न अध्ययनले देखाएका छन् ।
विशेषगरी प्रशोधित मासुको अत्यधिक सेवनले केही प्रकारका क्यान्सरको जोखिम बढाउन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि सचेत गराउँदै आएको छ । संगठनका अनुसार प्रशोधित मासुमा हालिने चिजकै कारण यो क्यान्सरको कारण बन्छ । आफ्नो भोजनमा यस्ता मासुलाई धेरै सामेल गर्नु भनेको क्यान्सरलाई निम्तो दिनु हो । त्यसैले तपाईं पनि मासु धेरै खानुहुन्छ भने यो लेख तपाईंका लागि हो ।

किन खानुहुँदैन प्रशोधित मासु ?
यस्ता मासुको सेवनले क्यान्सरको खतरा बढ्न सक्छ । खास गरेर प्रशोधित मासुको सेवनले कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा तथा मलाशयको क्यान्सर हुने सम्भावना बढ्छ । स्वाद बढाउन र लामो समयसम्म भण्डार गरेर राख्नका लागि यस्ता मासुमा नुन हाल्ने, धुवाँमा सुकाउने, फर्मेन्ट गर्ने वा लामो समयसम्म सुरक्षित राख्न अन्य प्रक्रिया अपनाउने गरिन्छ ।

ससेज, हट डग, ह्याम, जर्की तथा यस्तै प्रकारका मासु यसअन्तर्गत पर्छन् । उपलब्ध तथ्यांकअनुसार दैनिक ५० ग्राम प्रशोधित मासु सेवन गर्दा कोलोरेक्टल क्यान्सरको जोखिम करिब १८ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ । तर यसको अर्थ दैनिक ५० ग्राम प्रशोधित मासु खाने प्रत्येक व्यक्तिलाई क्यान्सर हुन्छ भन्ने चाहिँ होइन । जोखिम व्यक्तिको खानपान, जीवनशैली तथा अन्य विभिन्न कारणमा निर्भर हुन्छ । सामान्यतः प्रशोधित मासुको सेवनको मात्रा बढ्दै जाँदा जोखिम पनि बढ्न सक्छ ।
त्यसो भए पूरै बन्द गर्नुपर्छ त मासु खान ?
डब्ल्यूएचओले पूर्ण रूपमा मासु त्याग्नैपर्छ भनेर भनेको छैन । मुख्य चिन्ता प्रशोधित मासुको मात्रा र नियमित सेवनसँग सम्बन्धित हो । यसको सेवन कम गर्दा क्यान्सरको जोखिम घटाउन सहयोग पुग्न सक्छ । त्यसैले मासु खाने व्यक्तिले प्रशोधित मासुको मात्रा घटाउने, सन्तुलित आहार खाने र फलफूल, तरकारी तथा अन्य पोषणयुक्त खाद्य पदार्थलाई आफ्नो खानपानमा समावेश गर्नु उपयुक्त हुन्छ ।
मासु पकाउने तरिकाले पनि पार्छ फरक
मासुको प्रकारसँगै त्यसलाई पकाउने तरिकाले पनि स्वास्थ्यमा असर पार्न सक्छ । अत्यधिक तापक्रममा मासु पकाउँदा वा सिधै आगोमा पोलेर पकाउँदा केही हानिकारक रासायनिक पदार्थ बन्न सक्छन् ।
विशेषगरी धेरै तापक्रममा मासु पकाउँदा पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (पीएएचएस) र हेटेरोसाइक्लिक एमाइन (एचसीए)जस्ता यौगिक बन्न सक्छन् ।
यस्ता पदार्थको उच्च वा लामो समयसम्मको सम्पर्कले स्वास्थ्य जोखिम बढाउन सक्ने भएकाले मासु पकाउँदा अत्यधिक तापक्रम र डढ्ने अवस्थाबाट जोगिन सुझाव दिइन्छ । मासुलाई कम तापक्रममा राम्रोसँग पकाउने, कम तेल प्रयोग गर्ने तथा अत्यधिक पोलेको वा डढेको भाग नखानेजस्ता सावधानी अपनाउन सकिन्छ ।



















