खाेज्नुहाेस

महिना दिन नपुग्दै सुदूरपश्चिममा मुख्यमन्त्री हटाउने षडयन्त्र

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तीन साता नपुग्दै सत्तारुढ नेकपाभित्र मुख्यमन्त्री खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने चलखेल सुरु भएको छ । प्रदेश सभामा सभामुख र एक निलम्बित सांसदबाहेक नेकपाका २० सांसद छन् ।

संसदीय दलको नेता परिवर्तन गर्न ११ सांसदको समर्थन आवश्यक पर्ने भएकाले असन्तुष्ट समूहले यही संख्या जुटाउने प्रयास थालेको हो । स्रोतका अनुसार साविक माओवादी केन्द्रका कम्तीमा पाँच र नागरिक उन्मुक्ति पार्टीका पाँच सांसदसहित थप एक सांसदको समर्थन जुटाउने प्रयास भइरहेको छ ।

attariya hospital
navjiwan hospital

असन्तुष्ट सांसदहरूले छुट्टाछुट्टै छलफल गर्दै हस्ताक्षर संकलनको तयारीसमेत गरेका छन् । मुख्यमन्त्री भट्टविरुद्धको असन्तुष्टिको प्रमुख कारण मन्त्री छनोटमा पार्टी केन्द्रको हस्तक्षेपलाई मानिएको छ ।

नेकपा सांसद अक्कलबहादुर रावलले मंगलबार सार्वजनिक गरेको भिडियो सन्देशले पनि प्रदेश सरकारमा केन्द्रको हस्तक्षेपप्रति असन्तुष्टि देखाएको छ । भट्ट २९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

सरकार गठन भएको तीन साता नपुग्दै नेतृत्व परिवर्तनको प्रयास सुरु भएपछि प्रदेश सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ । यसैबीच, सुदूरपश्चिम प्रदेश झन्डै दुई महिनादेखि बजेटविहीन अवस्थामा छ । सरकारभित्रकै विवादका कारण बजेट पारित हुन नसक्दा प्रदेश सरकारको संकट थप गहिरिएको छ ।