अत्तरिया- अछाममा भएको जिप दुर्घटनामा घाइते भएकामध्ये ७ जना बालबालिका रहेका छन् । दुर्घटनामा १४ जना घाइते भएकामा ७ जना बालबालिका रहेका हुन् ।

अछाम प्रहरीका अनुसार एक जना बालकको भने उपचारका क्रममा मृत्यु भइसकेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका-४ का राजेन्द्र खड्काका अन्दाजी १८ महिनाका छोरा इशान खड्काको न्याय हेल्थ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते अन्य ७ जना बालबालिकाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ । तीमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएको छ । चौरपाटी गाउँपालिका-५ का अन्दाजी ८ वर्षका स्माइल रावल र सोही ठाउँका ११ वर्षीय आयुष खड्काको अवस्था गम्भीर रहेको हो ।

त्यस्तै, चौरपाटी-५ का अन्दाजी ५ वर्षीय दीपेन्द्र रावल, अन्दाजी ६ वर्षका वसन्त मिजार, अन्दाजी २ वर्षीय आज्ञान खड्का, ८ वर्षीय रमित मिजार र ८ वर्षकी प्रमिशा रावल घाइते छन् ।
बुधवार बिहान जिल्लाको चौरपाटी-५ लुंग्रास्थित भित्री सडकखण्डमा से १ झ ४२९ नम्बरको जिप दुर्घटना भएको थियो । अछाम प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार जिप एक्कासी अनियन्त्रित भई १५० मिटर तल खसेको थियो ।
चालक चौरपाटी-५ कै ५१ वर्षीय तेजबहादुर रावल सामान्य घाइते रहेका र उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता साउदले बताए ।