कञ्चनपुर- कञ्चनपुरमा विभिन्न मुद्दामा फरार रहेका नौ जना पक्राउ परेका छन् । सरकारी छाप किर्ते मुद्दामा फरार रहेका विमल बोहरा, सुन्दर चलाउने र विकास चलाउने पक्राउ परेका हुन् ।

भीमदत्त नगरपालिका-७ हल्दुखालका विमललाई २०८० वैशाख ३१ गते ५ महिना कैद एक हजार रुपैयाँ जरिवाना, बझाङको छबिसपाथिभरा गाउँपालिका-६ का सुन्दर र विकास दुबैलाई सोही दिन ६ महिना कैद तथा एक हजार एक सय रुपैयाँ जरिवाना तोकिएको थियो ।

लागुऔषध मुद्दाका धनगढी उपमहानगरपालिका-५ तारानगरका अनमोल शाहलाई २०७९ वैशाख २२ गते तीन वर्ष कैद र चार हजार रुपैयाँ जरिवाना तोकिएको थियो । उनीहरु चारै जनालाई घरबाटै पक्राउ गरिएको र अदालतले सजाय भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

त्यसैगरी कुटपिट मुद्दाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चानपुरकै भीमदत्त नगरपालिका-४ संविधान चोकका माला लखेरा, तरुण लखेरा, हिमांशु लखेरा, आनन्द लखेरा र संगीता लखेरालाई पक्राउ गरी ५/५ हजार जरिवाना गराई छोडिएको प्रवक्ता डाँगीले बताए ।