खाेज्नुहाेस

अर्गानिक वस्तुको व्यवस्थापनमा ध्यान देउ

Image

नेपालीको खानपान शैलीमा धेरै परिवर्तन आएको छ । खासगरी बजारबाट तयारी खानेकुरा किनेर खाने प्रचलन बढ्दै गएकाले पछिल्लो समय अर्गानिक खानेकुराको विषयमा पनि बहस चल्न थालेका छन । नयाँ सञ्चालनमा आउने प्रायजसो होटल, रेष्टुराँहरुले एकनाशको परिकारलाई बढावा दिने नभई अर्गानिक खानेकुराहरुलाई प्राथमिकता दिन थालेका छन ।

अर्गानिक खानाको परिकार पस्किने होटल तथा रेस्टुरेन्टलाई अहिले भ्याइनभ्याइ छ । अर्गानिक खाना खानुपर्छ भन्ने चेतनामा वृद्धि भएको छ । केही वर्षअघिसम्म तरकारी तथा खाद्यान्नमा अत्याधिक विषादी र रासायनिक मल प्रयोग गरेर उत्पादन बढाइन्थ्यो भने अहिले क्रमशः अर्गानिक खेतीतर्फ किसानको आकर्षण पनि बढ्दै गएको छ । अर्गानिक वस्तुको महत्व उपभोक्ताले नबुझेको अवस्थाले गर्दा र बढी कमाई हुने भन्ने सोच भएका केही व्यक्ति बाहेक अहिले अर्गानिक खानेकुरामा सबैले ध्यान दिन थालेका छन । अहिलेको व्यस्त समयमा बजारको खानेकुराकै कारण विभिन्न रोगहरु लाग्ने अवस्था रहेकाले पनि अहिले अर्गानिक खानेकुराहरुको बजार बढ्दो छ ।

attariya hospital
navjiwan hospital

खाद्य तथा तरकारी, फलफूलमा अत्याधिक विषादी प्रयोगका कारण क्यान्सर तथा अन्य रोगको शिकार हुनुपर्दा उत्पादकहरुमा पनि चेतनामा वृद्धि हुँदै गएको छ । रसायनिक खेती गर्दा खानेलाई मात्र नभई किसानलाई समेत स्वास्थ्यमा अधिक असर परेको महसुस भएपछि अर्गानिक खेतीमा आकर्षण बढ्दै गएको हो ।

कोदो, तिते फापर, मिठे फापर, जौ, कालो भङगरे चामल (जसमा अत्यधिक मात्रमा क्यालोरी पाइन्छ), मकै, सिस्नो, नियुरो, घैया, अटार लगायताका ग्रामीण भेगमा उत्पादन हुने अर्गानिक खाद्यान्न अहिले सहरमा पनि निकै लोकप्रिय हुन थालेका छन् । रासायनिक मल नहाली स्थानीय गाईभैंसीको भकारो र स्याउलाबाट बनेको प्रांगारिक मल प्रयोग गरिने र किटानासक औषधि पनि प्रयोग नगरिने हुँदा यस्ता खाद्यान्नलाई अर्गानिक मानिन्छ । यस्ता खाद्यान्नले मानव शरीरलाई कुनै हानि नपु¥याउने र दीर्घायु जीवन हुनेहुँदा आधुनिक समाजमा अर्गानिकको महत्व बढ्दै गएको छ ।

अर्गानिक खानेकुराहरुको महत्व र माग बढ्दै गएको अवस्थामा सरकारी तवरबाट भने कुनै पनि किसीमका पहलकदमीहरु हुन सकेका छैनन् । अर्गानिक खानेकुराहरुको प्रयोग, त्यसको उत्पादन र त्यसैको विक्रिवितरणलाई प्राथमिकता दिनुको साटो सरकारले विदेशी सामग्रीहरु आयातमा बढी ध्यान दिने गरेको छ । जसका कारण स्वदेशी उत्पादनले बजार नपाउने र विदेशी रासायनिक पदार्थ मिश्रित वस्तुहरु सस्तोमा खरिद विक्रि हुने गरेका छन । अर्गानिक वस्तुहरुको उत्पादन गर्ने किसानले अझै पनि सरकारको अनुदान पाउन सकेका छैनन् । अर्गानिक खानाको माग बढेपनि त्यसको पुर्तिका लागि स्वदेशी उत्पादनलाई नै महत्व दिने कुरामा भने सरकारी निकायहरु चुकेका छन ।

अर्गानिक खानेकुराको चर्चा बढ्दै जादाँ र माग बढी हुँदा सरकारले त्यसको पुर्तिका लागि पहलकदमी गर्नुपर्दछ । अर्गानिक भन्ने वित्तिकै सबै खान योग्य नै हुन्छन भन्ने छैन । तर ति सबै सरकारले व्यवस्थापन गर्न नसकेका कारण पनि लथालिंग भएका हुन्छन । त्यसैले अर्गानिक खानेकुराहरुको व्यवस्थापन गरी त्यस्ता खानेकुराहरुलाई लेवलिङ्ग गर्ने र तिनिहरुको बजारीकरणमा सहयोग गर्ने काम सरकारी तवरबाट हुन जरुरी छ ।