डोटी – डोटीमा पानी छोएको निहुमा एक दलित युवक माथि कुटपिट भएको छ । होटलमा पानी छोएको निहुँमा केआईसिंह–४ लेककोटका रमेश भुल माथि कुटपिट भएको हो । केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवक माथि हातपात गरेको आरोप लागेको छ । ६० वर्षीय धामी विरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडित पक्ष न्यायका लागि प्रहरी कहाँ गएका छन् ।

इलाका प्रहरी कार्यालय वायलका इन्चार्ज असइ मानसिंह भण्डारीले पानी छोएको निहुँमा कुटपिट गरेको भन्दै रमेश भूल आइतबार बेलुकी आएको बताए ।

उनले मदिरा सेवन गरेका दुवै जनालाई थप कारवाहिका लागि जिल्ला प्रहरी कार्यालय सिलगढी पठाएको बताए । जातीय आरोप लगाउँदै कुटपिट भएपनि पीडित पक्षलाई मिल्नका लागि दबाब आइरहेको दलित अगुवा केआईसिंह–४ वायलका वसन्त विकले बताए ।















