कञ्चनपुर – कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ देखिएको छ । जिल्लामा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको हो । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ५५० जनाको रगत परीक्षण गरेको थियो ।
त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको कार्यालयका स्रोत व्यक्ति सिद्धराज भट्टले जानकारी दिए । उनका अनुसार जिल्लाको शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकामा परीक्षण गरिएकामध्ये १९९ मा वाहक (ट्रेट) देखा परेको थियो । ट्रेट देखापरेका १९९ जनाको रगतको अन्तिम जाँच गर्दा ४६ जनामा सिकलसेल एनिमिया भएको पुष्टि उनले बताए । त्यसमध्ये १२ जनामा गम्भीर खालको रोग देखिएको उनको भनाई छ । उनका अनुसार २२ जना महिला र २४ जना पुरुषमा सिकलसेल एनिमिया रोग देखिएको हो ।

ट्रेट देखा परेका महिला र पुरुषले विवाह गरे उहाँहरुबाट जन्मिने व्यक्ति पनि रोगी उनले बताए । नेपालमा पनि खासगरी चौधरी थारु समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सिकलसेल भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखा पर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखा पर्ने गर्दछन् ।














