खाेज्नुहाेस

कार्यविधि अनुसार नै सर्ट लिस्ट बनाएको कृष्णपुरको स्पष्टोक्ति

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कार्यविधि अनुसार नै हेल्थ असिस्टेन्ट पदको सर्ट लिस्ट (संक्षिप्त सूची) तयार पारेको जनाएको छ । शुक्रबार  पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले कर्मचारी छनोट कार्यविधि २०७५ अनुसार कर्मचारीको सर्ट लिस्ट तयार पारिएकाले भ्रम फैलाउने कुरामा विश्वास नगर्न आग्रह गरेको हो ।

नगरका प्रवक्ता मोहन बहादुर बस्नेतले स्वास्थ्य संस्थामा कर्मचारी अभाव भएकाले विज्ञापन आह्वान गरिएकोमा त्यसमा विवाद गर्न खोजिएको बताए । उनले यसअघि २०७६/०७७ पनि विवाद हुँदा आवेदन दिएपछि पनि कर्मचारी भर्ना प्रक्रिया रोकिएकाले यस पटक पनि सोही प्रवृत्ति दोहोराउने प्रयास भइरहेको बताए । उनले संक्षिप्‍त सूची निकाल्नको लागि कार्यविधिमै उल्लेख गरे अनुसारका प्रक्रिया पालना गरिएको बताए ।

attariya hospital

उनले नगरपालिकाले हाल प्रमुख प्रशासकीय अधिकृतलाई भैँसी डाक्टरको आरोप लगाउनु उपयुक्त नभएको बताए । उनले सातै तहका २ जना मात्रै नगरपालिकामा अधिकृत तहका कर्मचारी भएकाले कानुनी रुपमा पशु शाखा प्रमुख मान बहादुर केसीलाई प्रमुख प्रशासकीय अधिकृत बनाइएको बताए । उनले सातौँ तहकै कर्मचारी लेखा शाखा प्रमुख भएपनि कानुनी रुपमा प्रमुख प्रशासकीय अधिकृत बनाउन उपयुक्त नहुने भएकाले नबनाइएको बताए ।

स्वास्थ्य शाखा प्रमुख रतन सिह बिष्टले नगरपालिकाका स्वास्थ्य शाखाहरुमा कर्मचारी नभएकाले स्वास्थ्य सेवा दिन निकै समस्या भएको बताए । दरबन्दी अनुसार कर्मचारी नहुँदा खोप सेवा समेत प्रभावित भएको उनले बताए । उनले स्वास्थ्य संस्थामा रिक्त रहेका दरबन्दी पूर्तिका लागि ८ जना हेल्थ असिस्टेन्ट र ६ जना अहेवको विज्ञापन खोलिएको बताए ।

उनले यसअघिका निर्वाचित जनप्रतिनिधिले बनाएको कार्यविधि अनुसार हेल्थ असिस्टेन्ट पदका लागि आवेदन दिएका ९४ जनामध्ये ३९ जनाको सर्ट लिस्ट तयारी पारिएको बताए । सर्ट लिस्टमा कार्यविधि अनुसार स्थानीय, शैक्षिक योग्यता र कार्यअनुभवका आधारमा अङ्क दिइएको उनको भनाइ छ ।  ‘कार्यविधि बाहिर गएर हामीले कुनै काम गरेका छैनौ’ उनले भने ‘कार्यविधिमा टेकेर काम गर्दा कसैलाई फाइदा होला, कसैलाई घाटा होला ।’ उनले हाल कर्मचारी छनोटका लागि सर्ट लिस्ट मात्रै तयार पारिएकाले लिखित परीक्षा र अन्तरवार्ता बाँकी नै रहेको बताए ।

नगरपालिकाले हेल्थ असिस्टेन्ट सँगै ६ जना अहेवको पनि विज्ञापन आह्वान गरेको थियो । उक्त पदका लागि १०६ जनाको आवेदन परे पनि छनोट प्रक्रिया अगाडि नबढेको स्वास्थ्य शाखा प्रमुख बिष्टले बताएका छन ।