जोखिमयुक्त यात्रा गर्न विवश कैलालीको बडीगडाबासी

अत्तरिया– कैलालीलाई सुदूरपश्चिमकै सबैभन्दा विकसित जिल्लाका रुपमा लिइन्छ । प्रदेशका विभिन्न संरचनाहरू यहाँ रहेका छन भने यसलाई प्रदेशको राजधानीको रुपमा पनि तोकिएको छ । प्रदेशकै सुगम र विकसित जिल्लाका रुपमा चिनिएको कैलालीमा सडक र बिजुलीबत्ती नपुगेका ठाउँहरू पनि छन भन्दा पत्यार नलाग्न सक्छ । तर कैलालीको चुरे गाउँपालिका – ४ को बडीगडा क्षेत्रमा हालसम्म बिजुलीबत्ती पुग्न सकेको छैन । सडकको ट्रयाक खोलिएको भएपनि त्यसमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । खोलिएको ट्रयाकमा ज्यान हत्केलामा राखेर बडीगडाबासीहरु यात्रा गर्ने गर्दछन् । पर्यटकीय क्षेत्र र कृषिउपज क्षेत्र भएपनि व्यवस्थित सडक नहुँदा ऐतिहासिक महत्वको गर्भा दरबार रहेको बडीगडा अझै ओझेलमा छ । २०७६ साल कार्तिकमा सडक सञ्जालसँग जोडिँदा हौसिएका बडीगडाबासी सडकको मर्मत र व्यवस्थित बनाउने कार्य नहुँदा भने चिन्तित छन ।

maya metro hospital

कृषि उत्पादनको हिसाबले पनि बडीगडा क्षेत्रलाई प्राथमिकताका साथ हेरिन्छ । यहाँ सिजन अनुसारका तरकारी तथा फलफूलहरू मनग्य उत्पादन हुने गर्दछन् । यहाँ उत्पादन हुने सुन्तला र अदुवाले अझै पनि राम्ररी बजार पाउन सकिरहेको छैन । व्यवस्थित सडक नहुँदा कृषिजन्य उत्पादनको बजारीकरणमा पनि समस्या भएको स्थानीय टिकाराम ढुङ्गानाले बताए । उनले लामो संर्घष पश्चात सडकको ट्रयाक खोलिए पनि त्यसलाई व्यवस्थित बनाउने कार्य हुन नसक्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए । ‘यहाँ विभिन्न समस्याहरू छन्, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका समस्याले यो क्षेत्र थलिएको छ’ उनले भने ‘सहज रुपमा आवागमन गर्न सकिने सडक नहुँदा यहाँका बिरामीहरूले बाटोमै मर्नुपर्ने स्थिति समेत छ ।’

उनले बडीगडा क्षेत्रबाट कैलालीकै गौरीगंगा नगरपालिकामा अवस्थित चौमाला बजार नजिक पर्ने भएकाले त्यहाँ सम्म खोलिएको ट्रयाकलाई मर्मत गरी सहज रुपमा आवत जावत गर्न सकिने वातावरण सृजना गर्न सरकारले तदारुकता देखाउनुपर्ने बताए । ‘यो ट्रयाकमा हिउँद याममा केही सवारी साधनहरू जोखिम मोलेर चल्ने गर्दछन्’ उनले भने ‘तर बर्खा सुरु भएपछि सडक बन्द हुन्छ, त्यसपछि यहाँका बासिन्दाले डोकामा मालसामान ल्याउने तथा बिरामी बोक्ने गर्नुपर्छ ।’

attariya hospital

उनले चुरेको विकट क्षेत्रमा रहेकाले यहाँ कुनै पनि सरकारको ध्यान पुग्न नसकेको बताए । ‘कृषिजन्य उत्पादनका लागि यो क्षेत्र राम्रो छ, यहाँ विभिन्न किसिमका तरकारी तथा फलफूलहरू उत्पादन हुन्छन’ उनले भने ‘तर सडककै कारण किसानहरूले उत्पादन गरेका कृषिजन्य उत्पादनहरूले बजार पाइरहेको छैन । हिउँदमा उत्पादन गरिएका तरकारी तथा फलफूलजन्य उत्पादनले केही बजार पाएपनि बर्खायाममा भने किसानका उत्पादन बारीमै कुहिने गरेका छन ।’ बर्खायाममा पानी र पहिरोका कारण सडक अवरुद्ध हुने र यातायात ठप्प हुने गरेको उनको भनाई छ ।

अर्का स्थानीय गौरीलाल दियाकोटीले बडीगडा सुगम जिल्लामा भएपनि दुर्गम क्षेत्रका रुपमा रहेको बताए । उनले पहिलो प्राथमिकताको क्षेत्र पछिल्लो समय सडकलाई लिने गरिएको भएपनि व्यवस्थित सडक नहुँदा बडीगडाबासीलाई समस्या भएको बताए । ‘बिरामीलाई अस्पताल पु¥याउन एम्बुलेन्स बोलाउन सकिने अवस्था छैन, बाटो नहुँदा यहाँका कृषकहरूका उत्पादनले बजार पाइरहेका छैनन्’ उनले भने ‘कृषिमै आत्मनिर्भर बनौ भन्दा पनि बजारका कारण त्यो सम्भव छैन, सडक राम्रो भएको भए नजिकै रहेको चौमाला बजारमा कृषि उत्पादनहरू बेच्न हुन्थ्यो ।’ उनले बडीगडा क्षेत्र चारैतिरबाट समस्याले ग्रस्त रहेको बताए । उनले उचित शिक्षा, स्वास्थ्य, बिजुलीबत्ती र व्यवस्थित सडक पाइने आशा राखेका बडीगडाबासीहरुले अझै पनि सोचे अनुसारको विकास पाउन नसकेको बताए ।

चौमालाका स्थानीय फणिराज सापकोटाले बडीगडाबासीको मुख्य समस्या बाटोकै रहेको बताए । नेपाली कांग्रेसका नेता समेत रहेका उनले सुगम जिल्लाको दुर्गम ठाउँका रुपमा बडीगडालाई चिनिने गरिएको बताए । उनले स्थानीय केही नेताहरूको जोडबलका कारण संघबाट बजेट ल्याएर सडकको ट्रयाक खोल्ने काम गरिएको बताए । ‘ट्रयाक खोल्ने काम भएपनि त्यसलाई व्यवस्थित बनाउन हालसम्म सकिएको छैन’ उनले भने ‘यहाँ विकासका कुनै पनि पूर्वाधारहरू छैनन्, न त आवश्यकता अनुसारको सडक नै छ, न त बिजुली छ, न त स्वास्थ्य छ ।’ उनले बडीगडामा हालसम्म पनि बिजुली पुग्न नसक्नु दुर्भाग्यको कुरा भएको बताए ।

सडक मर्मतका लागि टेन्डर भैसकेको छ : अध्यक्ष बोगटी

यता गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले बडीगडाको सडक मर्मतका लागि चालु आर्थिक वर्षमा टेन्डर भैसकेको बताएका छन । गत वर्ष पनि सडक मर्मतका लागि टेन्डर गरिएकोमा ठेकेदारले काम नगर्दा समस्या भएको बताउदै चालु आर्थिक वर्षमा सडक मर्मतका लागि १ करोड २० लाख रुपैया बजेट विनियोजन भएको बताए । ‘प्रदेशसँग ५० प्रतिशत साझेदारीमा समानीकरण अन्र्तगत १ करोड २० लाख रुपैयाँको टेण्डर त्यो सडकको लागि भएको छ’ उनले भने ‘दरबार माथीबाट एकै मोडमा डाँडामा निकाल्ने, अप्ठ्यारो मोडहरूमा जाली हाल्ने, मेसिनरी वाल र स्ल्याब हाल्ने गरी ठेकेदार सँग सम्झौता भैसकेको छ ।’

उनले त्यसका लागि प्रदेशले ६० लाख र पालिकाका तर्फबाट ६० लाख रुपैया विनियोजन भएको बताए । त्यसका साथै चौमालाबाट आउने बाटोमा प्रदेश र सडक बोर्डको योजना अन्र्तगत विनियोजित भएको २५ करोड बजेटका लागि पनि टेन्डर भैसकेको उनले बताए । त्यसमा चौमालाबाट ८ किलोमिटर सडक कालोपत्रे गरिने उनले बताए । त्यस्तै गर्भा दरबार देखी खैराला सम्मको सडक मर्मतका लागि ४० लाखको ठेक्का भैसकेको उनले बताए ।

उक्त बजेट पनि पालिकाबाट विनियोजित गरिएको उनले बताए । त्यतिमात्रै नभई पालिकामा रहेका अन्य स्थानका सडकहरूको पनि मर्मतको कामका लागि टेन्डर भैसकेको पालिका अध्यक्ष बोगटीले बताए । उनका अनुसार विश्व बैंकको लगानीमा अलाड देखि फास्ट ट्रयाक सम्म १५ किलोमिटर पिच भैरहेको छ भने ८० लाखको खानीडाँडा मौरिसडकको मर्मतका लागि टेन्डर भएको र ३ करोडको फास्ट ट्रयाक देखि निगाली सम्मको सडक मर्मतका लागि काम भैरहेको छ ।

पूर्वपश्चिम राजमार्गको चौमाला सडकखण्डदेखि उत्तरी चुरे पहाड क्षेत्र बडीगडामा पैदल हिँडेर एक दिन लाग्ने गर्दछ । सडकको ट्रयाक खोलिएको भएपनि उक्त सडकमा सवारी साधन चलाउने सकिने अवस्था छैन । ज्यानको बाजी लगाएर सडकमा आवत जावत गर्नुपर्ने विवशता बडीगडाबासीको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.