कैलाली- कैलालीको टीकापुर आयुर्वेद औषधालयमा औषधी अभाव भएको छ । औषधालयमा दैनिक आउने बाथरोग, ग्याष्ट्रिक, पायल्स जस्ता रोगका बिरामीका लागि आवश्यक औषधिको अभाव भएको हो ।
टीकापुर नगरपालिका–५ का ६५ वर्षीय भीमबहादुर चौधरीले आफू दुईपटक आउँदा समेत बाथरोगको औषधि नपाएर फर्किनु परेको गुनासो गरे । टीकापुर–१ का सूर्यजंग शाहीले ग्याष्ट्रिकको औषधी नियमित खाने गरेकोमा दश दिनयता औषधी नै नपाएको बताए ।
औषधालयका प्रमुख कविराज निरीक्षक अशोककुमार मिश्रले गत वर्षको तुलनामा बिरामीको संख्या बढ्दा केही दिनयता औषधीको अभाव देखिएको बताए । उनले औषधालय र नगरपालिकाले औषधी खरिदका लागि कोटेसनको प्रक्रिया अघि बढाइसकेको र दश दिनभित्रमा औषधालयमा पर्याप्त मात्रामा औषधी आइपुग्ने बताए ।