डोटी- डोटीमा हरेक महिना दुई दिन बजार बन्द रहने भएको छ । डोटी उद्योग वाणिज्य संघले प्रत्येक महिनाको १० र २५ गते दुई दिन बजार बन्द गर्ने निर्णय गरेको हो ।
डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउँदले आम व्यापारी बजार बन्दका लागि एकमत भएपछि आउँदो २५ गतेबाट पूर्ण कार्यान्वयन हुने गरी संघले निर्णय गरेको बताए ।
पसल सञ्चालक, मजदुर एवम् कामदारलाई आराम तथा मनोरञ्जनको आवश्यकता महसुस गरिएकाले महिनामा २ दिन बजार बन्द गर्ने निर्णय गरिएको बताइएको छ । संघले होटेल, अस्पताल, मेडिकल, पेट्रोल पम्प, तरकारी पसल जस्ता अत्यावश्यक पसलहरूबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै, संघले पसल खोल्ने व्यापारीलाई दुई हजार पाँच सय जरिबाना तोक्ने निर्णय समेत गरेको छ। साथै व्यापारी नरबहादुर खड्काको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति समेत गठन भएको बताइको छ ।