अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालमा महिला तथा पुरुषका लागि बन्ध्याकरण (परिवार नियोजन) घुम्ती शिविर आयोजना गरिएको छ । नेपाल परिवार नियोजन संघ कैलाली शाखाको सहकार्य, गोदावरी नगरपालिका सँगको समन्वयमा स्वास्थ्य कार्यालय कैलालीले बध्याकरण शिविर आयोजनामा गरेको हो ।
शिविरमा ३४ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । जसमा ३० जना महिलाको मिनिल्याप र ४ जना पुरुषको भ्यासेक्टोमी गरिएको स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाँईले बताए ।
शिविरमा मिनिल्याप र भ्यासेक्टोमी गराएका ३४ जनालाई गोदावरी नगरपालिकाले ब्ल्याङ्केट वितरण गरेको थियो । सो कार्यक्रममा नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया, स्वास्थ्य निर्देशक डा. जगदिश जोशी, स्वास्थ्य कार्यालय प्रमुख आशुतोष श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
स्वास्थ्य कार्यालयले गत वर्ष पनि मालाखेती अस्पतालमा बन्ध्याकरण शिविर आयोजना गरेको थियो । जसमा २७ जनाले सेवा लिएका थिए ।