खाेज्नुहाेस

विवादपछि अनशन नबसेरै फर्किए डा. गोविन्द केसी 

Image


अत्तरिया – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी कैलालीको गेटामा अनशन नबसेरै फर्किएका छन । शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिन अनशनमा बस्ने घोषणा गरेका डा. केसी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति सँग वादविवाद गर्दै अनशन नगरी फर्केका हुन । 

डा. केसीले शुक्रबार दिउँसो सार्वजनिक गरिएको  प्रेस विज्ञप्तिमा गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग राखिएको थियो । डा. केसीको उक्त माग अव्यवहारिक भएको भन्दै संर्घस समितिले स्पष्टीकरण मागेपछि केसी रिसाएर फर्किएका हुन ।  

attariya hospital

सरकारले गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्बाबाट निर्णय गरेर राष्ट्रिय सभामा विधेयक पेश गरिसकेको अवस्थामा केसीले प्रतिष्ठान बनाउन अनशन गर्न लागेको जानकारी पछि सामान्य छलफल गर्न खोज्दा डा. केसी रिसाएर फर्किएको संघर्ष समितिका संयोजक लोक राज पाण्डेले बताएका छन । ‘डा. केसीको एजेण्डामा मेडिकल विश्वविद्यालय नभएर स्वास्थ्य प्रतिष्ठान छ भन्ने हामीले सुनेपछि हामीले वहासँग कुरा गरेका थियौ’ उनले भने ‘वहाँ सम्वाद नगरी, हेपाहा प्रवृत्तिमा हामीसँग व्यवहार गरेर जानुभयो ।’ 

धनगढीबाट मोटरसाइकलमा अनशन स्थल गेटामा पुगेका केसी आधा घण्टा जति वादविवाद गरेर फर्किएका थिए । उनले सुरुमा पत्रकार सम्मेलन गर्ने र त्यसपछि संघर्ष समितिका कुरा सुन्ने बताएपनि संघर्ष समितिले भने गेटामा प्रतिष्ठान बनाउने कुरा मान्य नहुने भन्दै प्रष्ट पार्न आग्रह गरेका थिए । 

डा. केसीले अस्पताल सञ्चालन हुनुपर्छ, एमबीबीएस पढाइ हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । ‘मलाई विश्वविद्यालय होस, प्रतिष्ठान होस, मेडिकल कलेज होस कुनै आपत्ती छैन’ उनले भने ‘तर, विश्वविद्यालय भनेको तपाइले सोच्नु भएको भन्दा फरक कुरा हो । नेपालमा मेडिकल युनिभर्सिटीमा लगानी पनि त्यतिकै गर्नुपर्छ । आर्थिक मन्दी छ भनेर अस्पताल १५ शैय्याको पनि नचलाउने.. हामीसँग सम्झौता भएको थियो नी…।’ त्यसपछि उनी आफू एक्लो आएकाले अनशन बस्न नदिएको भन्दै रिसाएर फर्किएका थिए ।