धनगढी – सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै छ । २०७२ सालदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागित हुनेको संख्या बढ्दै जान थालेको हो । सुदूरपश्चिममा हाल स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या ५ लाख ४२ हजार ३ सय ७३ पुगेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालयले जनाएको छ ।
जसमा सबैभन्दा बढी स्वास्थ्य बीमा गराउने कैलालीमा रहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख रमेन्द्रप्रसाद कुशवाहले बताएका छन । उनका अनुसार कैलालीमा २ लाख ८० हजार ९ सय ५७ जनाले स्वास्थ्य बीमा गरेका छन ।

यस्तै कञ्चनपुरमा ५९ हजार ५२ र अछाममा ५५ हजार ४ सय ८३ जनाले स्वास्थ्य बीमा गराएका छन् । यसैगरी बझाङमा ३९ हजार ९ सय ७३, बाजुरामा ३४ हजार ५ सय ८९, बैतडीमा २३ हजार ८ सय ५८, डडेल्धुरामा १९ हजार ९ सय १०, डोटीमा १६ हजार ३ सय ५५ र दार्चुलामा १२ हजार १ सय ९६ जनाले स्वास्थ्य बीमा गराएको बोर्डको तथ्याङ्कले देखाएको छ ।
प्रमुख कुशवाहका अनुसार पुराना बिमितमध्ये करिब ८५ प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् । स्वास्थ्य बीमामा सहभागी हुन ५जना सदस्य भएको परिवारले वार्षिक ३ तीन हजार पाँच सय प्रिमियम तिर्नुपर्छ भने ५ जनाभन्दा बढी सदस्य भए १ सदस्य बराबर थप ७ सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान छ ।
बिमित परिवारका सदस्य बिरामी हुँदा १ लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्छ । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको जनाइएको छ ।
स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र सङ्घीय अस्पतालमा उपचार सेवा प्राप्त गर्दै आएका छन् । बिमितहरूको पहिलो सेवा केन्द्रमा उपचार हुन नसके प्रादेशिक र सङ्घीय अस्पतालबाट उपचार सेवा लिँदै आएका छन् ।
सरकारले विसं २०७२ बाट देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरु गरेको थियो ।
सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी÷एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने गरेको जनाइएको छ ।














