धनगढी – चिसो बढ्दै गर्दा सुदूरपश्चिम प्रदेशमा डेङ्गु संक्रमण घट्नुको सट्टा झनै बढेको देखिएको छ । बर्सातको बेलाभन्दा चाडपर्वको समयमा डेङ्गु अझै बढेको प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको हो । सो कार्यालयका अनुसार अक्टुबर महिना मात्रै प्रदेशभर ४०० जनामा डेङ्गु संक्रमण भएको छ ।
जुन यो वर्षको एक महिनामा उच्च संक्रमण हो । यसअघि सेप्टेम्बर महिनामा ३३०, अगस्तमा ३०८, जुलाईमा ५८ जनामा डेङ्गु संक्रमण भएको थियो । यसै गरी जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १२९, अप्रिल, मे, र जुनमा क्रमशः २५, २६ र ५८ जनामा डेङ्गु संक्रमण भएको थियो ।

योसँगै प्रदेशभर डेङ्गु संक्रमण हुनेको सङ्ख्या एक हजार ३६५ पुगेको छ । प्रदेशको सबैभन्दा बढी कैलालीमा ६८९, कञ्चनपुरमा २७८, दार्चुलामा २०१ जनालाई डेङ्गु संक्रमण भएको छ । हिमाली जिल्लाहरु बाजुरामा ७०, बझाङमा १३ जनालाई डेङ्गु संक्रमण भएको निर्देशनालयले जनाएको छ । बैतडीमा २२, डोटीमा १९, डडेलधुरामा १० र अछाममा ६३ जनालाई डेङ्गु संक्रमण भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
चाडपर्वको बेला डेङ्गु संक्रमणबढेको देखिए पनि अब घट्दै जाने प्रादेशिक स्वास्थ्य निर्देशनालयले भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । चिसो बढ्दै जाँदा लामखुट्टेको वृत्ति विकास रोकिएर डेङ्गु घट्दै जाने उनले बताए । “चिसो बढिरहेकाले अब डेङ्गु सङ्क्रमण कम हुन्छ,” जोशीले भने । एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसलाई डेङ्गु लाग्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडिको समयमा घाम लागेको बेला टोक्ने गरेको जनाइएको छ ।
भाइरसबाट लाग्ने डेङ्गु आफैँ निको हुने रोग भए पनि यसले ज्यान पनि लिने गरेको छ । यो वर्ष डेङ्गुबाट सुदूरपश्चिम प्रदेशमा तीन जनाले ज्यान गुमाएका छन् । कञ्चनपुरमा दुई जना र दार्चुलामा एक जनाको डेङ्गुबाट ज्यान गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । डेङ्गु सङ्व्रmमण रोकथामका लागि प्रायः सबै स्थानीय तहमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको थियो ।














