अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ कोल्मुडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । पहिलोपटक गोदावरीको विकट बस्तीका रुपमा रहेको कोल्मुडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । कोल्मुडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि कोल्मुडा संगै चाप, सल्लीका स्थानीयलाई सहज भएको छ । वडा अध्यक्ष भीम बहादुर खड्काले यसअघि सामाजिक सुरक्षा भत्ता बुझ्न अत्तरिया पुग्नुपर्ने बाध्यता रहेकोमा पहिलो पटक बैंक मार्फत नै कोल्मुडाबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए ।

‘यसअघि सांग्रिला बैंकबाट भत्ता वितरण हुने गरेको थियो । उक्त बैंकले वडामै गएर भत्ता बाड्न नसकिने भनेपछि अत्तरिया आउनु पर्ने बाध्यता थियो’ उनले भने ‘सो क्षेत्रका स्थानीयलाई अत्तरिया आएर भत्ता बुझेर जाँदा ४÷५ सय रुपैयाँ गाडी भाडामै खर्च हुने गरेको थियो । अहिले गाउँमै भत्ता वितरण भएपछि सहज भएको छ ।’ हाल वडाको भत्ता वितरणका लागि एनआईसी एसिया बैंकसँग सम्झौता गरिएको वडा अध्यक्ष खड्काले बताए । उनले एनआईसी एसिया बैंकले वडामै भत्ता वितरण गरिदिने सम्झौता गरेको बताए ।

हाल वडाको कोल्मुडा सँगै वडा कार्यालयबाट पनि सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ । वडामा नौ सयको हाराहारीमा सामाजिक सुरक्षा भत्ता बुझ्ने सेवाग्राही रहेको वडा अध्यक्ष खड्काले बताए । उनले इन्टरनेटको सुविधा भएको क्षेत्र आवश्यक पर्ने भएकाले पहाडी क्षेत्रको कोल्मुडा र तराई क्षेत्रको वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए । ‘वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिदा टोल टोलबाटै भत्ता वितरण गरिदै आएकोमा बैंकिङ प्रणालीमा गएपछि भने अत्तरिया आउनु पर्ने बाध्यता रहेको थियो’ उनले भने ‘वडाले चालु आर्थीक वर्षदेखि भने बैंक सँग सम्झौता गरेर वडाबाटै बैंकिङ प्रणालीबाट भत्ता वितरण सुरु गरेको हो ।’
यातायातको भरपर्दो सुविधा नभएका कारण सो क्षेत्रका जनतालाई अत्तरिया आउन समस्या हुने गरेको छ । वडा नम्बर १२ संगै जोडिएको वडा नम्बर ११ मा भने १ बर्ष देखि नै वडाका ३ ठाउँबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिदै आएको छ । वडा अध्यक्ष प्रेम सिह बडैलाले आफू वडामा निर्वाचित भए लगतै वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए ।
वडा नम्बर ११ मा प्राइम बैंक मार्फत वडाका राममन्दिर, भासुलिमाडु र वडा कार्यालयबाट समाजिक सुरक्षा भत्ता वितरण गरिदै आएको छ । उक्त वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्नको लागि प्राइम बैंक संग सम्झौता गरिएको वडा अध्यक्ष बडैलाले बताए । उनले वडामा बैंकलाई भत्ता वितरण गर्नको लागि आफूहरुले पनि सहजिकरण गर्ने गरेको बताए । वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण भएपछि सेवाग्राहीलाई सजिलो भएको उनले बताए । ओलानी क्षेत्रमा पर्ने वडा नम्बर ११ मा पनि यातायातको राम्रो सुविधा नहुँदा अत्तरियाबाट सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या हुँदै आएको थियो ।
ओलानी क्षेत्रमै पर्ने वडा नम्बर १० का सेवाग्राही भने हाल सामाजिक सुरक्षा भत्ता बुझ्न अत्तरिया आउने गरेका छन । वडा सदस्य शेर बहादुर तामाङले वडाका सेवा ग्राहीलाई एनएमबी बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको बताए । उनले आगामी सामाजिक सुरक्षा भत्ताको किस्ता भने वडाबाटै वितरणका लागि बैंक संग छलफल भइरहेको बताए ।