अत्तरिया – कैलालीको अत्तरिया बजारमा सरसफाई गरिएको छ । गोदावरी नगरपालिकाको आयोजनामा शनिबार अत्तरिया बजारमा सरसफाई गरिएको हो । ‘ग्रिन गोदावरी, क्लिन गोदावरी : हाम्रो नगर, सफा सुन्दर शहर’ भन्ने मुल नाराका साथ नगरपालिकाले वृहत सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।
सरसफाई कार्यक्रममा नगरप्रमुख विरेन्द्र भट्ट सहित, नगरका कर्मचारी, वडाध्यक्ष, अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना लगायतको सहभागीता रहेको थियो । नगरप्रमुख भट्टले नगरको मुख्य बजारको सुन्दरताका लागि सरसफाई कार्यक्रम आयोजना गरिएको बताए ।

उनले हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशैँको पुर्वसन्ध्यामा प्रदेशकै ट्रान्जिट प्वाईन्टका रुपमा रहेको अत्तरियालाई सफा बनाउने लक्ष्य रहेको बताए । उनले अत्तरिया बजार, बसपार्क लगायतका स्थानहरुमा सरसफाई गरिएको बताए । ‘पछिल्लो केही दिन यता यात्रुहरुको चापका कारण बसपार्क अत्यन्तै फोहोर भएको थियो’ उनले भने ‘त्यहाँको फोहोर फाल्नुपर्ने र बसपार्कलाई पनि सफा राख्नुपर्ने भएकाले यो अभियान सरह नै कार्यक्रम सञ्चालन गरेका हौ ।’
उनले देशभरका यात्रुहरुले बसपार्क फोहोर देख्दा नगरप्रतिको मानसिकता नकारात्मक हुने भएकाले पनि बसपार्क क्षेत्रमा सफा राख्न जरुरी रहेको बताए । उनले पछिल्लो समय नगरले सरसफाईलाई विशेष प्राथमिकता दिएको बताए । उनले नगरपालिकामा एउटा छुट्टै शाखा स्थापना गरि सरसफाईको जिम्मेवारी दिईएको र कहि कतै सरसफाई सम्बन्धी गुनासाहरु भए तत्काल सम्बोधन गरिने समेत बताए ।














